aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोना कहरः ५९ हजार बढिको मृत्यु, कुन देशमा कतिले ज्यान गुमाए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
कोरोना कहरः ५९ हजार बढिको मृत्यु, कुन देशमा कतिले ज्यान गुमाए ?

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वल्डो मिटर डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५९ हजार १७२ पुगेको छ ।

अहिलेसम्म विश्वभर ११ लाखको हाराहारीमा कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये २ लाख २८ हजार ४०५ उपचारपछि घर फर्किएका छन् । अहिले ८ लाख १० हजार २६५ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ३९ हजार ४३९ जना भने गम्भीर अवस्थामा छन् ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली, स्पेन त्यसपछि अमेरिका पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ६८१ पुगेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ७६६ जनाको मृत्यु भएको छ भने ४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख १९ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । तीमध्ये १९ हजार ७५८ जना पूर्ण रुपमा निको भएका छन् । अहिले त्यहाँ ८५ हजार ३८८ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ । संक्रमितमध्ये ४ हजारभान्दा बढीको अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा बढी कोरोना संक्रमण हुने देश हो अमेरिका । अहिलेसम्म अमेरिकामा २ लाख ७७ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । शुक्रबार मात्रै अमेरिकामा ३२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

अहिलेसम्म अमेरिकामा कोरोनाबाट ७ हजार ३९२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र अमेरिकामा १ हजार ३२१ जानको मृत्यु भएको छ । संक्रमितमध्ये १२ हजार २८३ जान भने पूर्ण रूपमा निको भएका छन् । अहिले अमेरिकामा २ लाख ५७ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ५ हजार ७८७ जनाको भने अवस्था गम्भीर रहेको छ ।

स्पेनमा अहिलेसम्म कोरोनाका कारण ११ हजार १९८ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ८५० जनाको ज्यान गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।

स्पेनमा अहिलेसम्म १ लाख १९ हजारभन्दा बढी कोरोना संक्रमित भएको छन् । तीमध्ये ३० हजार ५१३ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले स्पेनमा ७७ हजार ४८८ जनामा कोरोना संक्रिया रहेको छ । तीमध्ये ६ हजार ४१६ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी पनि रहेको छ । जर्मनीमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ९१ हजार १५९ पुगेको छ । तीमध्ये २४ हजार ५७५ जना भने पूर्ण रूपमा निको भइसकेका छन् । अहिले जर्मनीमा ६५ हजार ३०९ जनामा कोरोना सक्रिय रहेको छ । करिब ४ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् । अहिलेसम्म त्यहाँ १ हजार २७५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

चीनमा अहिलेसम्म कुल ८१ हजार ६२० जनामा कोरोनाको संक्रमण देखिए पनि अहिले १ हजार ७२७ जनामा मात्रै कोरोनाको सक्रिय रहेको छ । ७६ हजार ५७१ भने पूर्ण रुपमा निको भइसकेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । अहिले त्यहाँ ३७९ जनाको अवस्था भने गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस