aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बाघमा पनि कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
बाघमा पनि कोरोना संक्रमण

अमेरिका । कोरोना भाइरसको सङ्क्रमण जनावरमा समेत देखिएको छ । अमेरिकी शहर न्युयोर्कको ब्रोन्स चिडियाखानामा रहेको चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । 

चिडियाखानामा रहेको पोथी बाघमा कोरोना भाइरस ‘पोजेटिभ’ देखिएको अयोवामा रहेको नेशनल भेटेरेनरी सर्भिसेज ल्याबोरेटोरीले पुष्टि गरेको छ । 

योसँगै अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जनावर पोथी बाघ भएको छ । अधिकारीहरुले चिडियाघरका कर्मचारीबाटै पोथी बाघमा सङ्क्रमण भएको हुन सक्ने बताएका छन् । 

सङ्क्रमित पोथी बाघ नादिया, अर्को पोथी बाघ अजुल, अमुर प्रजातिको दुई वटा बाघ र तीन अफ्रिकी सिंहमा सुख्खा खोकी देखिएको र अहिले तिनीहरु सामान्य अवस्थामा फर्किएको बताइएको छ । 

सङ्क्रमित पोथी बाघको आहर घटेको भए पनि पशु स्वास्थ्यकर्मीको हेरचाहका कारण सुधार भइरहेको अधिकारीहरुले बताएका छन् । ब्रोन्स चिडियाघरमा रहेका अरु बाघ, हिउँ चितुवा, चितुवा लगायतका जनावारमा बिरामीको कुनै लक्षण देखिएको छैन । 

ब्रोन्स सहित चार वटै चिडियाखाना न्युयोर्कमा रहेको वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले सञ्चालन गर्दै आएको छ । जुन गएको मार्च १६ देखि सर्वसाधरणको लागि बन्द गरिएको छ । एजेन्सी  

प्रतिक्रिया दिनुहोस