
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै राष्ट्रको नाममा सम्बोधन गरिरहेका छन्। सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले आउने २ साता हाम्रा लागि थप चुनौतिपुर्ण हुने बताएका छन् ।
उनले भने, ‘९ जनामा संक्रमित देखिए पनि हामी उच्च जोखिममा छौं। सावधानी अपनाएनौं भने भयावह स्थिति हुनसक्छ।’ उनले भने, ‘यस महामारीबाट जोगिने मुख्य कुरा भनेको नै सामाजिक दुरी कायम गर्नु हो । यस महामारी विरुद्ध हामीले समयमै सहि मदम चालेका छौँ ।’ विदेशबाट फर्किएकालाई सम्पर्कमा आउन उनले अनुरोध गरेका छन्।
कोरोना भाइरसको संक्रमण बढ्ने देखिएपछि सरकारले चैत १ गतेबाट विदेशबाट आएकालाई सम्पर्कमा आउन अनुरोध गरेको थियो। तर, संक्रमित बिरामी विमानमा सँगै आएका पनि सम्पर्कमा आएका छैनन्।
ओलीले लकडाउनले महामारी फैलिन नदिने अभियानमा ठूलो सहयोग पुगेको बताउँदै लकडाउनको असुविधाप्रति आफू सम्वेदनशील रहेको स्पष्ट पारे।
मित्रराष्ट्रको सद्भाव र अनुसन्धानमुलक संस्थाले हामीले चालेका कदम प्रभावकारी भन्दा कोरोनाको संक्रमणविरुद्धको लडाईमा बल मिलेको ओलीको भनाई छ। नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गरेको बताउँदै ओलीले यस बेला स्थानीय तहका जनप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस