aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पाँच सय ४५ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा, पाससम्बन्धी नयाँ व्यवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
पाँच सय ४५ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा, पाससम्बन्धी नयाँ व्यवस्था

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाईं विना काम सवारी चलाईरहनु त भएको छैन ? यदि छ भने तपाईं ट्राफिक प्रहरीको फन्दामा पर्नु होला है ।

अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू,  मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ  । 

मंगलबार मात्रै काठमाण्डौ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ५१० वटा २ पाङ्ग्रे र ३५ वटा ४ पाङ्ग्रे गरी जम्मा ५४५वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा एक सय ५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाएको छ ।

कोरोना भाईरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लङ्घन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिएको र आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित वेलुका उक्त सवारी साधन छाड्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि हो, यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन पनि ढकालले आग्रह गरे ।

काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि लकडाउन उल्लङ्घन गर्ने ५,१९१ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ । 

पाससम्बन्धी नयाँ व्यवस्था
जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्धारा विभिन्न मितिमा जारी भएको ७ (सात) दिने पहेलो रङको सवारी पास अब थपिएको लक डाउन अवधिभर मान्य हुने भएकाे छ ।

यस अघि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस महाशाखालाई पत्राचार गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए । उनले भने “अन्य १ दिने, ३ दिने वा अन्यथा लेखिएका पासहरू भने आजकै मितिवाट खारेज भएको छ ।”

पास भएकालाई पनि विशेष निगरानी
पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी श्रेष्ठले बताए  ।
 

प्रतिक्रिया दिनुहोस