
कोरोना भाइरसले हजारौँको ज्यान लिइसक्यो । तर, यसले बाँचेकाहरूको लागि चाहिँ एउटा सुखद समाचार दिने निश्चित भएको छ । त्यो हो अमेरिकी साम्राज्यवादको विश्वव्यापी नियन्त्रणको र दादागिरीको अन्त्य ।
यसो भन्न सकिने केही आधारहरू छन् । विश्व शक्ति राष्ट्र कमजोर बन्ने दुई वटा तरिका हुन्छन् । बाह्य र आन्तरिक कारण । बाह्य कारण भन्नाले अन्य सैन्य युद्धमा पराजित बन्ने अवस्था हो भने आन्तरिक कारण चाहिँ आर्थिकरुपमा घरायसी बनेको अवस्था हो ।
अमेरिका युद्धका कारण थलिने सम्भावना व्यापक थियो । उसले इरानलगायतका मध्ये पूर्वका मुलुकहरूमाथि गरेको अनावश्यक हस्तक्षेप र आक्रमणको प्रतिरक्षा गर्ने क्रममा ढल्ने सम्भावना थियो । तर बिचमा कोभिड १९ अर्थात् कोरोना भाइरस आयो । यसले अमेरिकालाई आर्थिक, सामाजिक र राजनितिकरुपमा यति कमजोर पार्दै छ की अब अमेरिका आन्तरिक कारणले ढल्ने वाला छ ।
अमेरिका त्यसै पनि सङ्कटमा त छँदै थियो । किनभने उसले प्रपोगाण्ड मेसिनको रूपमा प्रयोग गर्दै आएको इन्टरनेट र सामाजिक सञ्जालहरूले त्यहाँका जनतालाई भ्रममा राख्न छोडिसकेका थिए ।
डोनाल्ड ट्रम्प शासनमा आएपछि विगत देखि नै अमेरिकी जनताहरूलाई उनीहरूले भन्दै आएको अमेरिका विश्वको एक मात्र धनी र शक्तिशाली राष्ट्र भएको कुरा त्यहाँका जनताले पत्याउन छाडे । विश्वका अरू देशहरू भन्दा अमेरिका उन्नत र उत्कृष्ट भन्ने नारा अविश्वासको घेरामा परिसकेको थियो । त्यसै बेला कोरोना भाइरसले प्रवेश गर्यो । अनि केही सातामा नै वर्षौँ देखिको झुट उदागाें भयो । सबै पोल खुल्यो ।
अमेरिकाले सुरुमा कोरोना भाइरसबारे पत्याएन । यसलाई चिनियाँ समस्या भन्दै पन्छिन खोज्यो । उनीहरू के भन्दै थिए भने यसले एसियालाई गाज्छ । र हामी हर सुरक्षित नै रहन्छौँ । तर, एकाएक कोरोनाले इटालीलाई थला पार्यो । स्पेनतिर सर्यो र फ्रान्सलाई अत्तायो ।
त्यसपछि भने बल्ल पश्चिमको बोली बद्लियो । किनभने यी देशहरू कोरोना सँग लड्न नसकेको देख्दा युरोपेली युनियन काम गर्न नसक्ने सङ्गठन हो भन्ने प्रमाणित भइसकेको थियो । लगतै त्यसमा कोरोनाले न्यु योर्क सहरलाई गाँज्यो । जसले अमेरिकाको असली हैसियत विश्व सामु खोल्न थाल्यो । तथापि ट्रम्प भन्दै थिए इस्टरसम्ममा कोरोना जान्छ सबै ठिक हुन्छ । तर, त्यसो भएन । हुने लक्षण छैन । यस्तो लाग्छ की जब सम्म अमेरिकालाई पूर्ण रूपमा नङ्ग्याउँदैन तबसम्म कोरोनाले त्यो मुलुक छाड्ने छैन । यसका केही कारणहरू छन्
पहिलो अमेरिकाको साम्राज्यवादी साधन यो प्रकरणमा प्रपोगाण्ड फैलाउन असफल भयो । अमेरिका र बेलायत कोरोनाको दलदलमा फसिरहँदा चीन र रसियाले सजिलै आफूलाई महामारीकाट बाहिर निकाल्न सफल बनेको कुरा विश्व समुदायले देख्यो ।
अमेरिकी स्वास्थ्य प्रणाली कति कमजोर रहेछ भन्ने कुरा केही हप्ता भित्रैमा स्पष्ट भयो । भ्रष्ट्राचार र बेतिथिले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रलाईसमेत त्यति कमजोर पारेको मुलुकमा अरू क्षेत्र कुन अवस्थामा होलान् भन्ने विश्व समुदायले सहजै अनुमान लगाउन सक्ने अवस्था बन्यो । वास्तवमा विगतमा आफूले विश्वव्यापी भ्रम छर्न प्रयोग गर्दै आएको इन्टरनेट नै यस पटक भने अमेरिकाका लागि घातक बन्यो ।
दोस्रो अमेरिकाले आफ्नो तागत बताउँदै आएको पुजिँवादी विचारधारा, खुल्ला बजार, विश्वव्यापीकरण, उपभोक्तावाद, अति व्यक्तिवाद यी सबै वास्तविक समस्या सिर्जनाका लागि जिम्मेवार छन् भन्ने प्रस्ट भयो ।
उता, चीन, रसिया, क्युबा जस्ता मुलुकहरू पूर्ण रूपमा समाजवादी त होइनन् तर अमेरिकी पुजिँवाद भन्दा धेरै हदसम्म मानवीय हिस्सा बोकेका कारण बलिया राष्ट्रका रूपमा देखा परे । यसले के स्पष्ट पार्यो भने आर्थिकरुपमा बलियो आधार भएका मुलुकहरू अरू नै रहेछन् र सर्वाधिक धनी र शक्तिशाली भन्ने सामान्य सङ्कटमा नै हात फैलाउनु परेको विश्वले हेर्यो, अमेरिकी जनताले सत्य बुझे । रसिया र चीन जस्ता मुलुकले अमेरिकालाई सहयोग गरिरहेको छ ।
जस्तो सुकै सङ्कटमा साथ पाइन्छ भनेर नेटो तथा इयूका सदस्य राष्ट्र बनेका इटाली र स्पेनले आखिर त्यताबाट सहानुभूति समेत पाएनन् । चीन र रसियाले नै उनीहरूलाई साथ दिए । सहयोगका सबै सम्भावनाहरूलाई स्विकारेर त्यहाँ मानवीय सहायता पुर्याए ।
तेस्रो पश्चिमी लोकतन्त्रको पनि कोरोनाले नराम्ररी धज्जी उडायो । औषधी उत्पादकहरूले मानवीय सहायतालाई भन्दा नाफा कमाउने अवसरकारुपमा यसलाई प्रयोग गरे । लोकतान्त्रीक प्रतिस्पर्धालाई उत्कृष्ट र निर्विकल्प भन्नेहरूले यस बेला देख की त्यो कति निकृष्ट हुने रहेछ । पुरा ग्रह नै सङ्कटमा रहँदा समेत अतिरिक्त नाफाको चाहाना राख्ने र उत्पादकहरूले समेत अनावश्यक सञ्चित गर्ने र आपूर्ति नगर्ने गरेबाट उदारवाद र लोकतन्त्र कति ढुंगी र अमानवीय रहेछ भन्ने पुष्टि भयो ।
उल्लेखित लगायत अन्य धेरै यस्ता कारणहरू हामी भेट्न सक्छौँ जसले विश्वको नेतृत्व अब अमेरिकाले गर्न सक्दैन भन्ने स्पष्ट पार्छ । पश्चिमी राष्ट्रहरूले वकालत गर्दै आएका विचार, मान्यता र दर्शन अब काम लाग्दैन भन्ने प्रमाणित भएको छ । खुल्ला बजार, विश्वव्यापीकरण, आर्थिक उदारवादलगायतका पदावलीहरू संसारलाई नेतृत्व गर्ने र यहाँ उत्पन्न हुन सक्ने सङ्कटहरूको मोचन गर्ने क्षमता राख्दैनन् । त्यसैले किटान गरेर भन्न सकिन्छ अब अमेरिकी युग समाप्त भएको छ । विश्व नयाँ प्रणाली मात्र हिँड्न सक्छ । विश्वको नेतृत्वकर्ता राष्ट्रको ताज अमेरिकाबाट कोरोनाले खोसिदिएको छ ।
प्रतिक्रिया दिनुहोस