
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्स गरेका छन्। उता, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्ना देशका मुख्यमन्त्रीहरुसँगका शनिवार नै भिडियो कन्फरेन्स बैठक गरेका छन् ।
शुक्रवार नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच टेलिफोन संवाद भएको थियो । कोरोना भाइरसको संक्रमण रोक्ने विषयमा सो संवादमा कुरा भएको प्रधानमन्त्री ओलीले ट्विट मार्फत जानकारी दिएका थिए ।
नेपाल र भारत दुवै देशमा अहिले लक डाउन जारी छ । नेपालले वैशाख ३ गते सम्म लकडाउनको घोषणा गरेको छ भने भारतले वैशाख २ गते सम्मलाई लकडाउन घोषणा गरेको छ ।
खुल्ला सिमाना रहेका दुई प्रधानमन्त्रीबिच लकडाउन थप्ने विषयमा समेत शुक्रवारको वार्तामा छलफल भएको अनुमान गरिँदै गर्दा दुवै प्रधानमन्त्रीले आ–आफ्ना देशका प्रदेश प्रमुखहरूसँग एकै प्रकृतिको बैठक गरेबाट आन्तरिक सल्लाह गर्ने दुई नेताहरुबिच छलफल भएको संकेतका रूपमा लिइएको छ ।
अहिले सङ्कटपूर्ण अवस्थामा दुई नेताहरूको आपसी सहकार्यलाई सकारात्मकता हेर्दै विश्लेषकहरूले शनिवारको बैठकलाई संयोग मात्रै हुन नसक्ने भनिरहेका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारबाट भिडियो कन्फरेन्स गरेका हुन्। उनको सचिवायलका अनुसार उनले कोभिड १९ को रोकथामका प्रयासबारे मुख्यमन्त्रीहरूसँग छलफल गरेका थिए।
बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरू, प्रदेश १ का शेरधन राई, प्रदेश २ का लालबाबु राउत, प्रदेश ३ का डोरमणि पौडेल, प्रदेश ४ का पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का शङ्कर पोखरेल, प्रदेश ६ का महेन्द्र शाही र प्रदेश ७ का त्रिलोचन भट्ट सहभागी थिए।
प्रधानमन्त्री ओलीले प्रभावित समुदाय र क्षेत्रमा राहत प्याकेज वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
यता भारतीय प्रधानमन्त्री मोदी मुख्यमन्त्रीहरुसँगको भिडियो अन्तरक्रियाका क्रममा उनले मुखमा मास्क लगाएको अवस्थामा देखिएका थिए ।
उनले लकडाउन पूर्ण रूपमा कार्यान्वयन गराउनेदेखि कोरोना भाइरस विरुद्ध अन्य विभिन्न क्रियाकलापहरूमा मुख्यमन्त्रीहरू र प्रदेश सरकारहरूले राम्रो भूमिका खेलेको भन्दै धन्यवाद पनि दिएका थिए ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको चर्चा गर्दै कोरोना भाइरस विरुद्धको लडाईलाई अझ प्रभावकारी बनाउने उपायका बारेमा पनि बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस