
काठमाडौँ । वीरगन्जमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ । हेटौँडामा शुक्रवार गरिएको प्रारम्भिक परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँ ल्याइएकोमा तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरूको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको टेकु स्थित समाचार श्रोतले जानकारी दिएको छ । कोरोना संक्रमणपछि उनीहरूलाई हाल नारायणी अस्पतालमा आइसोलेसनमा राखिएको बताइएको छ ।
हेटौँडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रवार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ देखिएको थियो । तर पोजेटिभ हो वा होइन रु भन्ने प्रस्ट हुन नसकेपछि थप निर्क्योल गर्नका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरूको स्वाब परीक्षणका लागि पठाइएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गरिसकेको छैन ।
वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीका अनुसार हेटौडामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको हो । तर, काठमाडौँमा त्यसको थप पुष्टिबारे आफूलाई जानकारी नभएको उनले बताए । उनले भने, ‘मुस्लिम समुदायका लगभग १७ हजार जति सम्भावित संक्रमित अहिले नेपाल भारत सीमा क्षेत्रमा रहेको अनुमान छ ।’ सरावगीले अगाडि थपे, ‘भारतमा जमाती बसेर आएका उनीहरूले आफू ४ महिना अगाडि नै नेपाल छिरेको बताए पनि त्यो विश्वासनिय छैन ।’ उनका अनुसार ती भारतीय नागरिकहरू बोर्डर सिल हुनुभन्दा केही समय अघि मात्रै नेपाल छिरेको अनुमान छ ।
नेपाल भारत सीमा क्षेत्रमा यस्ता धर्म प्रचारकहरु ठुलो सङ्ख्यामा रहनु र तिनीहरू संक्रमित भएको सम्भावना हुनुले सो क्षेत्रमा अहिले नयाँ चुनौती थपिएको छ ।
यता, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले आफूले पनि वीरगन्जमा रहेका तीन जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको खबर सुनेको तर आधिकारीकरुपमा यसको पुष्ट्याइ गर्न सक्ने अवस्थामा आफू नरहेको बताए । उनीहरूको स्वाब पुनः परीक्षणका लागि काठमाडौँ ल्याएको विषय भने आफूलाई जानकारी आएको बताए ।
प्रतिक्रिया दिनुहोस