
काठमाडौं । वीरगन्जमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ । हेटौँडामा शुक्रवार गरिएको प्रारम्भिक परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँ ल्याइएकोमा तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वीरगन्ज २ छपकैयास्थित मस्जिदमा शंकास्पदरुपमा रहेका २१ जनाको स्वाव परीक्षण गर्दा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। तीनै जना पुरुष रहेको र उनीहरुको उमेर क्रमशः ३७, ४४ र ५५ वर्ष रहेको उल्लेख छ।
मन्त्रालयको फेसबुक पेजमा भनिएको छ, ‘पर्साको वीरगन्ज महानगरपालिका २, छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड १९ को शंका लागि नारायणी अस्पताल, वीरगन्जमा आइसोलेसनमा राखेर निजहरूको समेत थ्रोट स्वाव किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाको ल्याबमा परीक्षण गरिएको थियो, ‘मन्त्रालयको फेसबुकमा लेखिएको छ, ‘उक्त परीक्षणमा २१ जनामध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुनः एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मिति २०७६ चैत २९, शनिबार परीक्षण गरिएकोमा त्यहाँबाट समेत पोजेटिभ देखिएको हुँदा निजहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरू भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ।’
स्वास्थ्य मन्त्रालयले नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि गरेसंगै नेपालमा कोरोना संक्रमितको संख्या दर्जन पुगेको छ।
यसअघि काठमाडौंमा २, बाग्लुङमा २ र धनगढीमा ४ जना कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत छन् भने अर्का एकजना भने निको भएर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस