aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

निगमको अध्यक्षमा पूर्व सचिव घिमिरे नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ बैशाख २०७७
निगमको अध्यक्षमा पूर्व सचिव घिमिरे नियुक्त

काठमाडौं । नेपाल वायु सेवा निगमको अध्यक्षमा पूर्व सचिव सुशील घिमिरे नियुक्त भएका छन् । घिमिरेले पर्यटन मन्त्रालय र सञ्चार मन्त्रालयमा सचिव भएर काम गरेका छन । उनलाई एमाले नेतृत्वको सरकारले नै नेपाल दुरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्षका लागि समेत सिफारिस गरेको थियो । 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको बुझिएको छ  । उनले पर्यटन मन्त्रालय र सञ्चार मन्त्रालयमा सचिव भएर काम गरेका थिए । घिमिरेले पछिल्लो समय पर्यटनमन्त्री योगेश भट्टराईले गठन गरेको नेपाल वायु सेवा निगम सुधार सम्बन्धी कार्यदलको संयोजक भएर पनि काम गरेका थिए । 

उक्त कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था, निकायलाई पनि  शेयर जारी गर्न सुझाएको थियो । त्यस्तै लेखा प्रणाली र  वित्तीय पुनर्संरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउन, गन्तव्य विस्तारलगायत १३ वटा तत्कालीन रणनीतिको सुझाव दिएको थियो । 

आर्थिक न्युजडटकसँग कुरा गर्दै घिमिरेले भने, 'सबैले  विग्रियो भत्कियो भनेर गाली मात्र गरेर भएन कसै न कसैले त काम गर्न पर्यो, सबैको सहयोग भयो भने राम्रोसँग काम गर्न सक्छु भन्ने आट छ ।' 
 

प्रतिक्रिया दिनुहोस