
काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) ले पर्यटन क्षेत्रमा पारेको असरका वारेमा अध्ययन गर्न शुरु गरिएको अनलाइन सर्वेक्षणमा पर्यटन व्यवसायी सहभागी नभएको गुनासो सरकारले गरेको छ । पर्यटन तथा नागरिक उडड्यान मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको छलफलबाट अघि बढाइएको उक्त सर्वेक्षणमा थोरै व्यवसायीले मात्रै भाग लिएको नेपाल बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले बताए् ।
लकडाउनले पर्यटनका विभिन्न क्षेत्रमा पारेको कोरोनाको प्रभाव, बन्दाबन्दीको असर, जोखिम न्यूनीकरणको अवस्था र सरकारी राहत तथा नीति निर्माणमा आवश्यक सहयोग गर्ने उद्देश्यले सर्वेक्षण शुरु गरेको हो । सर्वेक्षणमा आ–आफ्नो क्षेत्रका कार्यरत जनशक्ति, लगानी, ऋण, बुकिङको अवस्था, कारोबारमा परेको प्रभावसहितको विषयमा जानकारी लिइने छ । बोर्डले एक साताको समय दिएर सर्वेक्षण शुरु गरेको थियो । तर, अहिलेसम्म १० प्रतिशत व्यवसायीे पनि सर्वेक्षणमा सहभागिता जनाएका छैनन् ।
कोरोनाले पारेको असरका वारेमा अध्ययन गर्न बोर्डले पर्यटनका प्रमुख क्षेत्रहरू एयरलाइन्स, होटल, पर्यटक सवारी, रेष्टुरेन्ट, जलयात्रा, पदयात्रा र पर्वतारोहण, ट्राभल एन्ड टूर र अन्य पर्यटकीय क्षेत्रको अध्यययन गर्न उक्त सर्वेक्षण शुरु गरेको थियो । बोर्डले दिएको समयावधि सकिदा पनि धेरै पर्यटन क्षेत्रमा व्यापार व्यवसाय गर्ने निजी व्यवसायीले फर्म नभरेको उनले गुनासो गरे ।
‘हामीले यो अवधिमा १० हजारले फर्म गर्ने अनुमान गरेका थियौं,’ सीईओ रेग्मीले भने ‘आजसम्म जम्मा ६ सय २५ जना व्यवसायीलेमात्र सर्वेक्षणमा भाग लिएका छन् । एयरलाइन्स र ठूला होटलबाट सर्वेक्षणमा सहभागिता जनाएपनि अन्यले भने आफ्नो वास्तविक तथ्यांक सरकारलाई दिएका छैनन् । ‘१८ एयरलाइन्समध्ये १५ वटा र ५ हजारभन्दा बढी होटलमध्य जम्मा एक ८४ वटा होटलले मात्र सर्वेक्षणमा सहभागिता जनाएर बोर्डले डेभलप गरेको फर्म भरेका छन् ।’ पर्यटनका अन्य क्षेत्रले भने यसमा सहभागिता जनाएका छैनन् ।
‘उहाँहरूले सरकारले खोजेको जस्तो लगानी, रोजगारी, बैंकको कर्जा र कर्जा लिएवापत तिर्नुपर्ने ब्याजलगायतका तथ्यांक दिएमात्र सहयोग र सहुलियत दिन सहज हुन्छ,’ उनले भने ‘ यसरी सर्वेक्षणमा भाग नै नलिएपछि केका आधारमा सहुलियत प्रदान गर्ने प्रश्न खडा भएको छ ।’
समय थपेर भएपनि जतिसक्दो धेरै व्यवसायीबाट आएको तथ्यांक संकलन गरेर जतिसक्दो छिटो प्रतिवेदन बनाउने बोर्डको योजना छ । यसरी बनाइएको प्रतिवेदन सरकारलाई पेश गर्ने बोर्डको तयारी हो । सर्वेक्षणबाट पर्यटन क्षेत्रमा परेको कोरोना प्रभावको क्षति अनुमान हुने र क्षेत्रगत तथ्यांक पनि आउने अनुमान बोर्डको छ । व्यवासीले माग गरेका राहत, सहुलियत, पर्यटन मजदुरको कल्याणमा चाल्नुपर्ने भूमिका सहितमा यो प्रतिवेदनपछि निर्णय लिन पनि सहज हुने अनुमान बोर्डले गरेको छ ।
प्रतिक्रिया दिनुहोस