aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विवादीत ओम्नीसँग ठेक्का तोडिएपछि अर्को कम्पनीसँग २९ करोडको स्वास्थ्य सामग्री ल्याउने सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
विवादीत ओम्नीसँग ठेक्का तोडिएपछि  अर्को कम्पनीसँग २९ करोडको स्वास्थ्य सामग्री ल्याउने सम्झौता

काठमाडौं । काठमाडौं । ओम्नी विजनेश कर्पोरेट इन्टनेशनलसँग ठेक्का तोडिएपछि अर्को तीन वटा स्वदेशी संस्थासँग स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य सेवा विभागले सम्झौता गरेको छ । विभागले बिहीबार ओम सर्जिकल, लुम्बिनी हेल्थ केयर र हाम्रो मेडी कन्सर्न नामक निजी संस्थासँग २९ करोड मूल्य बराबरको स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेको हो ।

 स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले तत्काल चाहिने अत्यावश्यक स्वास्थ्य उपकरणहरु खरिद गर्नका लागि नेपालकै निजी संस्थासँग सम्झौता गरिएको बताए । उनले भने, 'बिहीबार भएको सम्झौता अनुसार सामाग्री ल्याउने तयारीमा कम्पनीहरु लागि सकेका छन् जति सक्दो चाडो सामाग्री नेपाल ल्याउने तयारीमा लाग्न भनेका छौं ।' 

 विभागले कोरोना संक्रमणका बिरामीको उपचारमा संलग्नका लागि आवश्यक पीपीई, पञ्जा, गाउन,एन ९५ मास्क, चस्मा, सुज कभर, फेस कभर लगायतका तत्काल आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न लागेको हो । वैशाख १८ गतेभित्र नै सम्पूर्ण स्वास्थ्य उपकरण उपलब्ध गराइसक्ने गरी विभागले सम्झौता गरेको हो । शुक्रबार चीनबाट विभिन्न स्वास्थ्य उपकरणहरु नेपाल आइपुगेको छ ।

विभागले चैत २५ गते टेण्डर आह्वान गर्दै तत्काल आवश्यक केही स्वास्थ्य उपकरणहरु खरिद गर्ने कार्यलाई अघि बढाएको हो ।  विभागले ५ दिनको समय दिएर चैत २० गते  टेण्डर भर्न आह्वान गरेको थियो । अर्को टेण्डरमा स्यानिटाइजर र आइआर थर्ममिटरको टेण्डर गरेको र उक्त टेण्डरमा पनि तीन दिनको समय दिएर सम्झौताका लागि तयार रहने भनेको रसायन तथा मेडिकला आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए । 

ओम्नी विवादमा तानिएपछि स्वास्थ्य उपकरण खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय मन्त्रीपरिषदले गरेको थियो । सरकारले जिटुजी प्रक्रियामार्फत् स्वास्थ्य उपकरण खरिद गर्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस