aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

त्रियुगाका मेयरको गुनासो– टेस्ट किट छैन, स्थिति भयावह बन्यो

  • रिता राउत
    रिता राउत
  • शनिबार, ०६ बैशाख २०७७
त्रियुगाका मेयरको गुनासो– टेस्ट किट छैन, स्थिति भयावह बन्यो

उदयपुर । एकैसाथ १२ जनामा कोरोना पोजेटिभ देखिएको उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले कोरोना टेस्ट किटको अभाव भएको दुखेसो पोखेका छन् । वडा नं. ३ भुल्के स्थित मस्जिद आसपासका बासिन्दाहरूले तुरुन्तै आफूहरूको स्वास्थ्य परीक्षणको माग गरेकामा सो माग पुरा गर्न नसकी आफू निरीह बन्नु परेको जनाएका हुन् । 

शुक्रवार मस्जिदमा लुकेर बसेका १६ जना मध्ये १२ जनालाई कोरोना पोजेटिभ देखिएका थियो । त्यसपछि सो क्षेत्रमा एक प्रकारको आतङ्क नै सिर्जना भएको मेयर चौधरीले बताए । स्थानीय बासिन्दाहरूले यतिका लामो समय ठुलो सङ्ख्यामा संक्रमितहरु त्यहाँ बसेको हुनाले पुरै समुदाय नै जोखिममा परेको र अविलम्ब परीक्षणको आवश्यकता रहेका भन्दै मेयरलाई सो व्यवस्थाको लागि दबाब दिइरहेका छन् । तर, मेयरले भने सबै तिर हार गुहार गर्दा पनि सकारात्मक सहयोग प्राप्त नभएको दुखेसो गरे । 

उनले भने, “सबैले एक पटक कोरोना परिक्षण गर्नु पर्ने माग गरिरहेका छन् तर यसको सम्भव नै छैन । हामीसँंग कोरोना परिक्षणको पर्याप्त समान नै छैन् ।” जिल्लामा कोरोना परिक्षणको समान नभएको कारण तत्काल परिक्षण गर्न नसकिने नगर प्रमुख चौधरीको भनाइ छ ।  

उता, सङ्घीय सरकारले भने स्थानीय तहमा यस्ता सामाग्री स्वास्थ्य मन्त्रालयले सिधै पठाउन नसक्ने जानकारी स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र बहादुर श्रेष्ठले दिएका छन् । आर्थिक न्युजले सो क्षेत्रमा ठुलो मात्रामा परीक्षणको मात्र देखिसक्दा समेत पनि किन परीक्षणको लागि आवश्यक सामाग्री उपलब्ध नगराएको भन्ने प्रश्नको जवाफमा श्रेष्ठले भने, “हामी सिधै काम गर्न सक्दैनौँ । प्रदेशलाई पठाएका छौँ त्यहीँबाट जाने हो ।” 

स्वास्थ्य मन्त्रालय जिम्मेवारीबाट पन्छिएपछि प्रदेश नं १ स्वास्थ्य महाशाखाले भने सामाग्री पठाइसकिएको जानकारी दियो । महाशाखा प्रमुख सुरेश मेहताले सबै समान पठाएको बताएका छन् । उनले केही मात्रामा सकिएको भए फेरि पठाउने तयारी गरिरहेका बताए । उनले परीक्षणका लागि आवश्यक समान नभएको कुरालाई स्वीकार गरेनन् । उनले भने, “हामीले जिल्ला र सबै स्थानीय तहमा पर्याप्त समान पठाएका छौँ । यसमा समान आएको छैन भन्ने कुरा गलत हो ।” कोरोना परीक्षणका लागि आवश्यक उपकरणहरू पठाएको उनले जिकिर गरे ।  

यता, जिल्ला अस्पताल सूचना अधिकारी विर्ख बहादुर खत्रीले कोरोना परीक्षणको लागि पर्याप्त समान नभएकोले समस्या भएको बताए । उनले भने, “पहिलो चरणमा केही समानहरु आएको थियो तर त्यो समान पर्याप्त थिएन, आज फेरि प्रदेशले समान पठाउन लागेको भन्ने खबर आएको छ ।” आज प्रदेशले समान पठाइदियो भने भोलिबाट कोरोना संक्रमितसंग सम्पर्कमा आएकाको परीक्षण गरिने सूचना अधिकारी खत्रीले बताए । 

अहिलेको ठुलो प्रश्न के हो भने झार टार्नका लागि मात्रै सामाग्री पठाएर पर्याप्त सामाग्री पठाएको भन्दै दाबी गर्ने बेला हो यो ? खासमा जिम्मेवारी कसको हो किटान हुनु पर्छ कि पर्दैन ? फेरि अर्को प्रश्न सोध्नै पर्ने हुन्छ, के यस्तै व्यवस्थापनले जितिन्छ कोरोना विरुद्धको युद्ध ? 

प्रतिक्रिया दिनुहोस