aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उदयपुरमा उठेको प्रश्न– र्‍यापिड टेस्टलाई के आधारमा पत्याउने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ बैशाख २०७७
उदयपुरमा उठेको प्रश्न– र्‍यापिड टेस्टलाई के आधारमा पत्याउने ?

र्‍यापिड टेस्ट किटको विश्वसनीयतामाथि प्रश्न उठेको छ । उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितको र्‍यापिड टेस्टको रिजल्ट उल्टिएपछि किटमाथि प्रश्न खडा भएको हो।

मस्जिदमा लुकेर बसेका बसेका ती कोरोना संक्रमितको गत बुधबार र्‍यापिड टेस्ट गरिएको थियो। जसमा १६ जनाकै नतिजा नेगेटिभ आएको थियो। 

बाहिरी देशबाट आएका हुनाले उनीहरूको शुक्रबार पुनः पिसिआरमा स्वाब परीक्षण गरियो। कोशी अस्पताल विराटनगरमा स्वाब परिक्षण गर्दा १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएपछि र्‍यापिड टेस्ट औचित्यता माथि थप बहसको आवश्यकता महशुस भएको छ । 

यसअगाडि नै स्वस्थ्य मन्त्रालयले नै र्‍यापिड टेस्टमा नतिजामा विश्वासनिय रिजल्ट आउँदैन भनेपछि चीनबाट ल्याइएका र्‍यापिड टेस्ट किटको गुणस्तरमा प्रश्न तेर्सिएको हो । 

गम्भिर कुरा त यहाँ के छ भने, र्‍यापिड टेस्टको नतिजा नेगेटिभ देखिएका बिरामीलाई बेवास्ता गर्ने हो भने समुदायमा नै संक्रमण बढ्न सक्ने सम्भावना उच्च रहन्छ ।

मान्यता नपाएको र्‍यापिड टेस्ट

नेपालमा कोरोना भाइरसको महामारी समुदायमा फैलिन सक्ने चिन्ताबीच नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मान्यता नदिएको परीक्षण किट प्रयोग गरेरै भए पनि कोरोना भाइरस भए नभएको जाँच्ने निर्णय गर्यो । 

अधिकारीहरूले उक्त र्‍यापिड डायग्नोस्टिक टेस्टमार्फत् चीनबाट ठूलो परिमाणमा मगाइएको किटको परीक्षण र द्रुत जाँचको काम एकै साथ हुने र तिनको प्रारम्भिक परिणामका आधारमा थप विस्तार गरिने सरकारले निर्णय गरेको हो । त्यसैअनुसार स्वास्थ्य मन्त्रालयका निकायहरूले द्रुत परीक्षणको काम अगाडि बढाएका छन् । 

र्‍यापिड टेस्टले कोरोना संक्रमित व्यक्तिमा उक्त भाइरसविरुद्ध लड्ने एन्टिबडी बनेको छ वा छैन भनेर पत्ता लगाउने हो। विज्ञहरूका अनुसार कसैलाई कोरोना संक्रमण देखिएपछि व्यक्तिको शरीरले एन्टिबडी उत्पादन गर्न थाल्छ। यो एन्टिबडी दुई प्रकारको हुन्छ। 

एउटा ’आइजिएम’ र अर्को ’आइजिजी’। आइजिम संक्रमण भएको दुई/तीन दिनमा उत्पादन हुन सुरू गर्छ र दुई सातासम्ममा हराएर जान्छ। त्यसपछि अर्को आइजिजी भन्ने एन्टिबडी उत्पादन हुन सुरू गर्छ। यसको काम पनि भाइरससँग लड्ने हो। 

त्यसैले आइजिएम पोजेटिभ देखायो भने कोरोना भाइरस भर्खरै भएको भन्ने हुन्छ। आइजिजी पोजेटिभ देखायो भने कोरोना संक्रमण अलिअगाडि थियो भन्ने हो। अर्को कुरा, कोरोना भाइरस मरेर गए पनि हाम्रो शरीरमा आइजिजी भन्ने एन्टिबडी लामो समयसम्म रहिरहन सक्छ।

त्यस्तो बेला र्‍यापिड टेस्ट गर्दा पोजेटिभ तर पिसिआरमा परीक्षण गर्दा नेगेटिभ आउन सक्छ। त्यो भनेको हाम्रो शरीरमा कोरोना भाइरस मरिसक्यो तर त्यो विरुद्ध लड्ने एन्टिबडी जिवित नै छ भन्ने हो। 

सरकारले चीनबाट यो किट ल्याए लगत्तै विज्ञहरूले यसमाथि प्रश्न उठाएपछि सरकारले यसको गुणस्तर टुंगो गर्ने जिम्मा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्लाई दिएको थियो। तर, परिषद्ले अहिले अनुसन्धान गर्ने बेला होइन भन्दै पन्छियो। त्यसपछि, स्वास्थ्य मन्त्रालयले त्यसको जिम्मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दियो । 

र्‍यापिड डायग्नोस्टिक किटको पनि जाँच हुने बताइएको छ तर अहिले सम्म कुनै जाँच भने गरिएको छैन । 

किन दोहोरो परीक्षण ? 
द्रुत परीक्षणका क्रममा सङ्क्रमित देखिएका व्यक्तिको थप परीक्षण प्रयोगशालामा पनि गरिने सरकारको योजना छ। यसरी किटको परीक्षण सफल देखिएमा देशभरि उक्त परीक्षणलाई विस्तार गर्न सहज हुने सरकारी भनाइ छ।

सरकारले कोरोना भाइरसको लक्षण नभएका मानिसलाई पनि र्‍यापिड टेस्ट किटमार्फत परिक्षण गर्ने भनेको छ । यति धेरै परीक्षण गर्न पीसीआरबाट मात्र सम्भव छैन। त्यसले गर्दा र्‍यापिड टेस्ट किट चलाउन बाध्य भएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।  सबैतिरबाट परीक्षणको दायरा बढाउन भनिएका बेला समुदायसम्म पुगेरै परीक्षण गर्नुपर्ने अवस्थामा द्रुत परीक्षण विधि आवश्यक पर्ने सरकारी पक्षको तर्क छ।
 
कोरोना भाइरस सङ्क्रमणको जाँच हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सातवटा प्रदेशबाट भइरहेको छ।

प्रतिक्रिया दिनुहोस