
काठमाडौं । बन्दाबन्दी (लकडाउन)का बेला अत्यावश्यक काम नभइ घरबाहिर निस्कनेलाई चन्द्रागिरि नगरपालिकाले जरिवाना असुल गर्न थालेको छ । अनावश्यक रुपमा घरबाहिर निस्कनेबाट आम नगरावासी कोरोना भाइरस सङ्क्रमणको जोखिममा पर्ने खतरा रहेकाले अत्यावश्यक काम नभई निस्कनेलाई स्थलगत रुपमा रु १०० जरिवाना गर्न थालिएको नगरप्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिए ।
आधा किलो सामान किनेजस्तो गरी बाहिर निस्किएर भीडभाड गराउने क्रम बढ्न थालेपछि यस्तो नियम लागू गरिएको हो । अत्यावश्यक सामग्री किन्नका लागि भने दिनमा चार घण्टा पसल खोल्ने व्यवस्था नगरपालिकाले गरेको छ । यसैगरी अत्यावश्यक सेवाका बाहेक चिया पसल खोलेर मानिसको भीड गराउनेलाई पनि रु एक हजार जरिवाना गराउन थालिएको छ ।
हालसम्म जरिवानाबाट रु ७० हजार राजश्व जम्मा भएको पनि उनले सुनाए । नगर क्षेत्रबाट काठमाडौं बाहिर जान लागेका श्रमिक एवं विपन्न वर्गका मानिस पठाउन पनि नगरपालिकाले सहजीकरण गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस