aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बेलायतमा आज कोरोना विरुद्धको खोप मानिसमा परीक्षण गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
बेलायतमा आज कोरोना विरुद्धको खोप मानिसमा परीक्षण गरिने

बेलायत । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबारबाट मानिसमा परीक्षण गरिने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले भोलिबाट खोप मानिसमा परीक्षण सुरु हुने बताएका हुन् ।

अक्सफोर्ड विश्वविद्यालयमा बनेको खोप सफल हुने सम्भावना ८० प्रतिशतभन्दा बढी रहेको वैज्ञानिकहरूले आशा गरेका छन् ।स्वास्थ्यमन्त्री म्याट ह्यानककले खोप विकासका लागि दुई करोड पाउन्ड पैसा दिने घोषणासमेत गरेका छन् । अक्सफोर्डपछि लन्डनको इम्पेरियल कलेज पनि खोप विकासमा लागिपरेको छ ।

खोप परीक्षणको पूर्णनतिजा नआउँदै खोप उत्पादनसमेत सुरु गरिने उद्देश्यका कारण सेप्टेम्बरसम्ममा लाखौँ डोज खोप बनिसक्ने भएको छ । सामाजिक दूरी र खोप मात्रै कोरोना भाइरसबाट बच्ने अस्त्रका रूपमा रहेका छन् । 

‘कोरोना भाइरसलाई जित्ने मुख्य अस्त्र भनेकै खोप हो, हामी आफ्नो सबै बल लगाएर खोप विकासमा जुटेका छौँ, आशा छ यो सफल हुनेछ,’ स्वास्थ्यमन्त्री ह्यानककले भने ।

ह्यानककले आफूहरूले ठूलो मात्रामा खोप उत्पादनका लागि समेत अनुसन्धान थालेको र यो परीक्षण सफल भएमा सबैभन्दा पहिला र छिटो बेलायती जनताका लागि खोप उपलब्ध गर्नेसमेत भनेका छन् ।

यसअघि चीनको सैन्य मेडिकल विद्यालय र अमेरिकी फर्मास्युटिकल कम्पनीले मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण थालेका छन् ।

प्रतिक्रिया दिनुहोस