aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना जितेका कैलालीका युवक भन्छन्: ‘आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
कोरोना जितेका कैलालीका युवक भन्छन्: ‘आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ’

आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ । दोस्रो जीवन पाएको अनुभव भइरहेको छ । डाक्टरले एक हप्ता अलग्गै बस्न भनेका छन्, ‘त्यसैले अस्पतालबाट डिस्चार्ज भएदेखि कहिले एक हप्ता पुग्छ भनेर दिन गनेर बसेको छु ।’ रुञ्चे स्वरमा सुदूरपश्चिम प्रदेशका पहिलो कोरोना संक्रमित राज विकले भने । 

उनी रुञ्चे स्वरमा भनिरहेका थिए । कोरोना भाइरस जितेर अस्पतालबाट घर फर्केका विकलाई आज आमा खुवाउने मेसो पनि मिलेन ।

‘लाखौँ मानिसको ज्यानसमेत लिइसकेको भाइरसको सङ्क्रमण आफूमा फैलिएको थाहा पाउँदा शुरुमा आफ्ना लागि यो जीवन यति नै रहेछ भन्ने  सोचेको थिएँ तर कोरोनाको सङ्क्रमण देखिएको भनेर अस्पताल भर्ना गरेको एक हप्ता भइसक्दा पनि कुनै लक्षण नदेखिँदा भने बाँच्ने आशा जागेर आइदियो,’ विकले भने, ‘अस्पतालमा चिकित्सकहरूको सल्लाह र नर्सहरूको रेखदेख तथा उनीहरुले प्रदान गरेको हौसलाबाट मलाई म बाँच्छु भन्ने लाग्न थाल्यो ।’

क्वारेन्टाइनमै परीक्षण गर्दा उनीको रिपोर्ट पोजेटिभ आएको थियो । दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उनीको आत्मविश्वास अझै बढ्यो ।  ‘मलाई लाग्न थाल्यो, साँच्चै मलाई केही भएको छैन । सबै डाक्टर तथा नर्सले मलाई अझै आत्मविश्वास बढाउन प्रेरित गर्दाखेरि लाग्थ्यो उनीहरू मेरा भगवान् भएर आउनुभएको छ । अहिले घरमा पनि म डाक्टरहरूको सल्लाहअनुसार अलग्गै बसिरहेको छु ।’

दोस्रो र तेस्रो पटक रिपोर्ट नेगेटिभ आउँदा उनीले पहिलो पटक आमाबुबालाई सझिए । ‘एक्लै थिएँ खुशी व्यक्त गर्न भक्कानिएर रोएँ अनि आमालाई फोन गर्दाखेरि आफू कतै सपनामा त छैन कि भन्ने पनि लाग्यो ।’ उनीलाई जब अस्पतालबाट घर पठाउने कुरा बताइयो त्यति बेलाको आफ्नो खुशीलाई आफूले शब्दमा व्यक्त गर्न नसक्ने उनीले बताए । अस्पताल बसाइका क्रममा उनीले जानेको र बुझेको एउटै कुरा थियो आत्मबल बलियो बनाउनुपर्छ  । साथसाथै सरसफाइ तथा सामाजिक दूरी कायम गर्ने कुरा पनि कोरोनाबाट बच्ने महत्वपूर्ण उपाय हुन् । 

‘अहिले घर आएको छु । अलग्गै बसिरहेको छु ।  चिकित्सकले एक हप्ता भन्नुभएको छ त्यस बेलासम्म अलग्गै बस्छु तर लापरवाही गर्दिन । चिकित्सकको समयसीमा सकिएको पहिलो दिन आमालाई अँगालो मारेर बेस्सरी रुने मन छ’, उनले भने ।  उनी सङ्क्रमित भएर अस्पताल हुँदा आफूभन्दा आफ्नी आमा धेरै पीडामा थिइन्। आमाकै आशीर्वादले आफूले कोरोनालाई जितेको उनीको विश्वास छ । 

छोरा अब फर्केर आउला भन्ने आफूले नसोचेको राजुकी आमा भागादेवीले बताए। संसारलाई रुवाइरहेको सो रोग आफ्नो छोरालाई पनि लागेपछि छोरा गुमाउनुपर्ने भयो भन्ने पीडाले उनीलाई सताइरहन्थ्यो । जब छोरा सञ्चो भएर घर आउने कुरा थाहा भयो उनीका आँखाबाट खुशीका आँशु झरे । ‘छोरा आएपछि छोरालाई काखमा राखेर रुने मन थियो तर डाक्टरहरूले भनेअनुसार एक हप्ता अलग्गै बस्नुपर्नेछ छोराले, त्यसपछि एक पटक मन खोलेर छोरालाई अँगालेर रुनेछु ।’

भारतको मुम्बईबाट गत चैत ११ गते आएका विकलाई चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनीलाई यही वैशाख ७ गते  सेती प्रादेशिक अस्पतालबाट घर फर्काइएको थियो । 

प्रतिक्रिया दिनुहोस