aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

“म ढुक्क छु, कोरोनालाई जित्छु”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
“म ढुक्क छु, कोरोनालाई जित्छु”
प्रतिकात्मक तस्विर

बागलुङ । बागलुङको धौलागिरि अञ्चल अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको पाँचौँ पटकमा परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।  बागलुङ नगरपालिका वडा नं ४ कुडुलेकी १९ वर्षीया   बेल्जियमबाट गत चैत ४ मा कतार एयरवेजको क्युआर ६५२ को जहाजबाट नेपाल आएकी थिइन । चैत १५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइशोलेशन वार्डमा उन उपचाररत छिन । 

अस्पतालको २७ दिनको बसाइमा गरिएको पाँचौँ पटकको परीक्षणमा कोरोना नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले जानकारी दिए ।  रिपोर्ट नेगेटिभ आएपछि पहिलो पल्ट रासससँग कुरा गर्दै युवतीले भने, “निकै खुशी लागेको छ, अब अर्को परीक्षण पनि पक्कै नेगेटिभ आउँछ भन्ने लागेको छ, आफूभन्दा पछि आउनुभएकी आमा आफूभन्दा छिट्टै सञ्चो भएर जाँदा कताकता मलाई सञ्चो हुन्न कि जस्तो लागेको थियो तर अरु स्वास्थ्य समस्या नभएकाले कोरोना जित्छु भन्ने आत्मविश्वास थियो ।” 

उनले  परिवार, साथीभार्इ र चिकित्सकको विशेष निगरानीले आफूलाई कारोना जित्ने हौसला मिलिरहेको बताए । आइशोलेशनमा बस्दा उन मोबाइलमा साथीहरुसँग च्याट गर्ने, गीत सुन्ने र टिकटक हेरेर दिन बिताए । 

डा पोखरेलले एकचोटिको परीक्षणको रिपोर्टले मात्र डिस्चार्ज गर्न नमिल्ने भएकाले शुक्रबार पुनः अर्को नमूना परीक्षणका लागि पठाइने बताए । “सामान्यतः एक चोटिको रिपोर्ट मात्रै आधिकारिक हुँदैन, पुन दोस्रो पल्टको परीक्षण नतिजापछि मात्र डिस्चार्ज गर्न मिल्छ, ९० प्रतिशत नेगेटिभ नै हुन्छ, अपवादको रुपमा बाहेक अब उनले कोरोनालाई जितेकी छिन् । हामी सबै खुशी छौँ ।”

यसअघि यी युवतीसँगै बेल्जियमबाट बागलुङ आएकी ६५ वर्षीया सोही अस्पतालबाट  कोरोनालाई जितेर घर फर्किसकेका छन । निको हुँदै संक्रमित बलेवा– काठमाडौँ बाहिर कोरोना संक्रमित भेटिएको बागलुङ दोस्रो जिल्ला हो । गत चैतमा बेल्जियमबाट कतार हुँदै बागलुङ आएका दुई जनामा जाँच गर्दा पाँच दिनका बीचमा दुई जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भयो । 

यसभन्दा पहिला कञ्चनपुरका एक युवकमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । बाँकी तीन जना काठमाडौँमै थिए । चैत १५ देशकै पाँचौंँ संक्रमित बागलुङकी युवतीमा कोरोनाको संक्रमण पुष्टि भयो । त्यसपछि छैटौंँ संक्रमित पनि बागलुङकै ६५ वर्षीया  थिइन। उनको चैत २० गते कोरोना संक्रमणको पुष्टि भएको हो । त्यसपछि भएका लगातारका जाँचमा  दुई पटकसम्म कोरोनाको जाँच नेगेटिभ आएपछि यही वैशाख ६ गते घर फर्किसकेका छन । 

उनभन्दा पाँच दिन पहिला अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना भएकी युवतीको पनि पाँचौंँ पटकको थ्रोट स्वाब जाँचमा आज कोरोना नेगेटिभ आएको छ । “ यो उहाँ निको हुनुभयो भन्ने संकेत हो”, अस्पतालका प्रमुख डा  पोखरेलले भने, “मेडिकल साइन्सका अनुसार ४८ घण्टामा अर्को जाँच हुन्छ ।” अठ्चालीस घण्टाभित्रै हुने जाँचमा  पुनः नेगेटिभ आएमा अस्पतालले घर पठाउने छ । उनको प्रादेशिक प्रयोगशाला, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थ्रोट स्वाबको परीक्षण भएको हो । शुरुदेखि नै कुनै संकेत नदेखिनुभएकी उन निको भइसकेको चिकित्सक बताउँछन् ।

 विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार समयसीमा राखेर बिरामीको थ्रोट स्वाब संकलन र त्यसको नतिजाका आधारमा औषधोपचार हुने पोखरेलले बताए ।  उनमा चैत १५ गते कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको थियो ।  चार पटकसम्म पोजेटिभ देखिए पनि पाँचौँ पटक बुधबार पठाइएको स्वाबको आजको रिपोर्टमा  नेगेटिभ आएको हो । यो रिपोर्टपछि  अञ्चल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी पनि खुशी भएका छन् । युवती पनि सञ्चो भएर घर फर्केपछि बागलुङमा कोराना संक्रमित रहने छैनन् ।

 जिल्लाका एक हजार जनामा आरडिटी भएको छ । उनीहरुको पनि नेगेटिभ रिपोर्ट आएको थियो । भारत र अन्य देशबाट आएकाहरु क्वारेन्टाइनमा राखिएपछि गरिएको परीक्षणमा नेगेटिभ आएपछि घर फर्केका छन् ।रासस

प्रतिक्रिया दिनुहोस