
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ स्थित भुल्केका २८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोशी अस्पतालमा उपचार गराइरहेका संक्रमित २६ पुरुष र २ जना महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
त्यस्तै, हालसम्म प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको छ भने द्रुत परीक्षण विधि (आरडिटी) बाट विहीबारसम्म जम्मा ३ हजार ९ सय २९ जनाको नमुना परीक्षण गरिएको छ ।
त्यसैगरि, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या विहीबारसम्म कूल १ हजार ९२ जना पुगेको छ । २४ जना पुरुष डिस्चार्ज भएका छन् भने स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् ।
यस्तै, होम क्वारेन्टाइनमा जम्मा ४ हजार ९ सय १० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ७ सय ९४ र पुरुष ४ हजार १ सय १६ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस