aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना भ्याक्सिनः अमेरिका असफल, चीनले शुरु गर्यो मानिसमा परिक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
कोरोना भ्याक्सिनः अमेरिका असफल, चीनले शुरु गर्यो मानिसमा परिक्षण

चीनले बनाएको कोरोना भाइरसको विरुद्धको खोप बाँदरमा गरिएको परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् । चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको जनाएको हो । 

चीनबाटै आयो खुसीको खबर – कोरोनाको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण शुरु

यता, अमेरिकी कम्पनी गिलिड साइन्सले बनाएको कोरोना भाइरस विरुद्धको खोपको भने पहिलो परीक्षण असफल भएको छ । रेमडेसिभिर औषधिले बिरामीको अवस्थामा सुधार ल्याउन नसकेको र शरीरमा भाइरसको मात्रा घटाउन नसकेको देखाएको हो ।

भूलबस प्रकाशित भएको र पछि हटाइएको उक्त प्रतिवेदनअनुसार शोधकर्ताहरुले दुई सय ३७ बिरामीमा रेमडेसिभिर औषधिको परीक्षण गरेका थिए । जसमध्ये एक सय ५८ जनालाई यो औषधि दिइएको थियो । औषधि नदिइएका बिरामीसँग औषधि दिएका बिरामीको अवस्थाको तुलना गरिएको थियो । अध्ययनको क्रममा केही बिरामीलाई औषधिको अत्यधिक साइड इफेक्ट पनि देखिएको थियो ।

अध्ययन शुरु गरेको एक महिनामा १३ दशमलव ९ प्रतिशत औषधि दिइएका बिरामीको मृत्यु भएको थियो भने औषधि नदिइएका १२ दशमलव ८ प्रतिशत मानिसको मृत्यु भएको थियो । साइड इफेक्ट देखिन थालेपछि यो औषधिको परीक्षण बीचमै स्थगित गरिएको थियो ।

यो औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको थियो । अहिलेसम्म प्रमाणित नभएको उपचारको रुपमा पनि यसको प्रयोग गरिँदै आएको थियो । कम्पनीले अहिले पनि यस्तो धेरै परीक्षणहरु गरिरहेको छ । कम्पनीले चार सय बिरामीमा गरेको परीक्षणको नतिजा एक साताभित्र आउने बताएको छ ।

रेमडेसिभिर औषधिको परीक्षण यसअघि इबोला नियन्त्रणको लागि पनि गरिएको थियो । त्यतिबेला पनि यो औषधि सफल हुन सकेको थिएन । यो औषधि केही भाइरस नष्ट गर्नकै लागि निर्माण गरिएको थियो । त्यसैले यसले कोभिड–१९ विरुद्ध काम गर्ने अपेक्षा गरिएको थियो ।

गिलिडले भने डब्ल्यूएचओबाट चुहिएको प्रतिवेदनले अध्ययनलाई गलत ढंगले व्याख्या गरेको आरोप लगाएको छ । कम्पनीका अनुसार यो औषधिको केही बिरामीमा सकारात्मक असर पनि देखिएको दाबी गरेको छ । बीबीसी 

प्रतिक्रिया दिनुहोस