aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

के नेपालले कोरोना भाइरससँग जुझ्ने रणनीति फेर्नुपर्ने बेला आएकै हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
के नेपालले कोरोना भाइरससँग जुझ्ने रणनीति फेर्नुपर्ने बेला आएकै हो ?

विश्वव्यापी कोरोना भाइरस महामारीसँग जुझ्न नेपालमा लगाइएको लकडाउनले एक महिना पार गरिसक्दा अब सरकारी प्राथमिकता विदेशबाट आयातीत घटनामा मात्र केन्द्रीत हुन नहुने भन्दै विज्ञहरूले सचेत गराएका छन्।

सामान्यत: एकजना मानिसमा दुई हप्ताभित्र भाइरसले एउटा चक्र पूरा गर्नेहुँदा अब उनीहरूभन्दा बाहिर त्यो फैलिएको हुनसक्ने शङ्काका भरमा काम गर्नुपर्ने उनीहरूको भनाइ छ।

आधिकारिक रूपमा (तेस्रो चरण) नभनिए पनि कतिपय विज्ञहरूले उदयपुर जिल्लाको भुल्केमा सबैभन्दा बढी २८ जना कोरोना भाइरस सङ्क्रमितहरू पुष्टि हुनुलाई सङ्क्रमण अब आफन्त वा छरछिमेकमा मात्र नभइ समुदायमा फैलिएको हुनसक्ने अवस्थाका रूपमा हेरेका छन्।

समुदायमा सङ्क्रमण फैलिएको हुनसक्ने चिन्ता एकातर्फ गरिए पनि नेपालमा सङ्क्रमितको सङ्ख्या ४८ पुगेको सरकारी विवरण छ।

जनस्वास्थ्यविज्ञ डा. शरद वन्त नेपाल कुन चरणमा छ भन्दा पनि अहिले सङ्क्रमणको मात्रा कुन तहमा पुगेको छ भनेर खोज्नु निकै महत्त्वपूर्ण रहेको बताउँछन्। आयातीत सङ्क्रमणहरू नै उच्च सङ्ख्यामा भएको भए पहिलो चरण नै पनि भयावह हुन सक्थ्यो भन्दै डा. वन्तले अहिले धेरै जटिल नबनिसकेको परिस्थितिमा 'समुदायमा फैलिएका हुनसक्ने तर थाहा नभएका' घटना खोज्नमा ध्यान हुनुपर्ने बताउँछन्।

उनले भने, “यदि सङ्क्रमण समुदायमा फैलिसकेको भए सम्पर्कमा आएका व्यक्तिहरूको पहिचानको काम सहज हुँदैन। त्यस्तो बेला व्यवस्थापकीय रूपबाट निकै सुक्ष्म र कडा अनुगमन चाहिन्छ। नत्र फैलने दर निकै उच्च हुन्छ।" समुदायमै सङ्क्रमण फैलँदा पनि त्यसको गति कम छ भने त्यो नियन्त्रणमा राख्न सकिने विज्ञहरूको भनाइ पाइन्छ।

यसबीचमा वीरगञ्जमा मुस्लिम धर्मावलम्बीहरूमा भेटिएको सङ्क्रमणलाई समेत आयातीत घटना भनिएको थियो। उदयपुरका देखिएका दुई दर्जनभन्दा धेरै सङ्क्रमणका घटनाले महामारीको चरणबारे धेरैमा द्विविधा सिर्जना गराएको छ।

उदयपुरमा सङ्क्रमितहरू थपिने क्रम बढिरहेको पाइए पनि त्यहाँ सबैभन्दा पहिले भेटिएका सङ्क्रमितको स्रोत फेला पारिएको छैन। त्यो स्थापित नहुँदासम्म नेपाल कुन अवस्थामा छ भन्ने स्पष्ट नहुने भए पनि नेपालको तयारी भने 'तेस्रो चरण' जसरी नै हुनुपर्ने डा. वन्त बताउँछन्।

महत्त्वपूर्ण छन्- सम्पर्क व्यक्ति र जाँच

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसले निम्त्याउने रोग 'हामीहरूसँग लामो समयसम्म रहने' जनाएको छ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले त्यसैले अब लकडाउनमा मात्र भर नपरेर मानिसहरूको आचरणलाई आउँदा लामो समयको लागि सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँछन्।

उनी भन्छन्, "लकडाउनले हामी सबैलाई सामाजिक दूरीको महत्त्वबारे एउटा सन्देश दिनुपर्ने थियो, त्यो दिइसक्यो।" थाहा नपाइएका एउटा मात्रै सङ्क्रमणका घटनाले जतिखेर पनि ठूलो सङ्कट सिर्जना गर्नसक्ने भन्दै डा मरासिनीले सम्पर्क व्यक्तिको पहिचान र जाँचका लागि जनशक्ति एवं पूर्वाधार विकासमा निकै जोड दिनुपर्ने बताए।

"सङ्क्रमित मानिसहरू खोज्दै उनीहरूको पछाडि पूरा संयन्त्र खट्नुपर्छ," डा. मरासिनीले भने। "हामीमा समयमै आएको सचेतनाले गर्दा अन्य देशमाजस्तो भिडभाडयुक्त रेल, बसजस्ता परिवेशबाट फैलने चरण पार भइसकेको छ। आचरण र सामान्य सावधानी अपनाउँदा अब त्यसबाट फैलने अवस्था हामीकहाँ कम छ।" खासगरी उदयपुरमा भेटिएका सङ्क्रमितको यात्राको विवरणलाई सुक्ष्म ढंगले केलाउनुपर्ने कुरा अहिले थुप्रैतिरबाट उठेको छ।

सङ्क्रमितहरू तीन महिनाभन्दा बढी समयदेखि नेपालमै भएको भए बाहिरबाट भाइरस बोकेर आएको भन्ने सम्भावना निकै कम हुने विज्ञहरू बताउँछन्। शुक्रवारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा अधिकारीहरूले अब हरेक स्थानीय तहमा जनस्वास्थ्य अधिकृत र प्रयोगशाला प्राविधिक सहितको टोली पठाइने बताएका छन्।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने: "कम्तीमा गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा चारवटा त्यस्ता टोली सम्पर्क व्यक्ति पहिचान र नमुना सङ्कलनका लागि पठाइनेछ।"

नेपालको 'चरम अवस्था' कस्तो हुनसक्छ?

कोरोनाभाइरस तेस्रो चरणमा पुगेको अवस्थामा एकजना सङ्क्रमितले सरदर साढे दुईजनालाई भाइरस फैलाउन सक्ने बताइन्छ। त्यो गुणात्मक रूपमा फैलँदै जाँदा फैलने दर निकै उच्च हुन्छ।

नेपालमा भएका निकै कम जाँचका कारण प्रक्षेपण गर्ने निश्चित ढाँचा बनाउन कठिन हुने र जसका कारण 'एकजना सङ्क्रमितले गराउन सक्ने अन्य सङ्क्रमितहरू'को अनुमान गर्ने काम निकै असहज हुने गरेको विज्ञहरू बताउँछन्। त्यस्ता ढाँचा बनाइएका ठाउँमा पनि तिनले सबै सङ्क्रमितको सङ्ख्या पत्ता लगाउँछन् नै भन्न नसकिने जनस्वास्थ्यविज्ञ डा. वन्त बताउँछन्।

डा. बाबुराम मरासिनी समेत नेपालको जाँच क्षमताको सीमितताले गर्दा सबैभन्दा खराब अवस्थाको अनुमान गर्न नसकिने बताउँछन्। उदयपुरको परिवेशबारे उनले भने, "एक महिनाजति त्यस क्षेत्रलाई कडा निगरानीमा राखेर परीक्षणहरू बढायौँ भने त्यसलाई काबुमा राख्न अझै पनि सकिन्छ।"

डा. वन्तले भने नेपालमा तत्काललाई सङ्क्रमितहरूको पहिचान हुने क्रम नरोकिएकोले लकडाउनलाई हटाउनुभन्दा थप केही समय व्यवस्थित पार्ने उपाय खोज्नुपर्ने सुझाउँछन्।

विज्ञहरू भाइरस फैलने दर 'एकजनाबाट एकजना वा दुईजनाबाट एकजना गर्दै घट्दै जाने लहरले' सङ्क्रमण रेखा घट्दै जाने र त्यसको निरन्तरताले यस महामारी नियन्त्रणमा आउने बताउँछन्। तर डा. वन्त र डा. मरासिनी दुवैले तत्काललाई त्यो सम्भावना टाढै देखेको बताए।

वुहानमा एक सयजति घटना दर्ता हुँदा वास्तविक रूपमा १,५०० जति सङ्क्रमणका घटना रहेको अवस्थालाई देखाउँदै डा वन्तले भने: "लुकेको घटनाबाटै समुदायको सङ्क्रमणलाई अझ जोखिमपूर्ण अवस्थामा लैजाने हो।" बीबीसी 

प्रतिक्रिया दिनुहोस