aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
कोरोना

पर्यटन क्षेत्रमा तत्काल एक हजार रोजगारी सिर्जना गर्दै पर्यटन बोर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
पर्यटन क्षेत्रमा तत्काल एक हजार रोजगारी सिर्जना गर्दै पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डले १ हजार पर्यटन मजदुरलाई तत्काल काम दिने गृहकार्य सुरु गरेको छ । नेपाल पर्वातारोहण संघ (एनएमए) र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) सक्रियामा बोर्डले यस क्षेत्रका मजदुरलाई रोजगारी सिर्जना गर्न लागेको हो । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा परेपछि यस क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेको रोजगारी गुमेपछि पर्यटन व्यवसायीहरूको छाता संस्था टान र एनएमएले हिमाल तथा पर्यटकीय पदयात्रा सफाइ तथा मर्मत एवम् सम्पदा सर–सफाइमा तत्कालका लागि रोजगारी सिर्जना गर्न सक्ने सुझाव सरकारलाई दिएको थियो ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले पर्यटन बोर्डले गरेको सर्वेक्षण फर्म र संस्थाकातर्फबाट सुझाव दिँदा यसो गर्न सकिए तत्काल अप्ठ्यारोमा परेका  पर्यटन मजदुरलाई राहत मिल्ने बताए । टानका अध्यक्ष खुमबहादुर सुवेदील पर्वतीय पर्यटनमा आश्रित मजदुर, गाइड, भरियासहितको लाखौंका जनशक्ति बेरोजगार बनेको बताउँदै केही रोजगारी खोज्ने विकल्पमा हिमाल तथा पर्यटकीय पदमार्ग सफा गर्ने योजना अघि बढाइएको बताए ।

पर्यटन क्षेत्रमा रहेका दक्ष कामदारलाई यो विषम परिस्थितिमा राहत दिने गरी बोर्डले रोजगारी सिर्जनाका लागि पहल सुरु गरेको हो ।
बोर्डले संयुक्त राज्य विकास कार्यक्रम (यूएनडीपी) सँग सहकार्य गरेर एक हजार जनालाई रोजगारी दिने छलफल अघि बढाइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले बताए ।

‘यस विषयमा यूएनडीपीसँग छलफल भइरहेको छ,’ उनले भने यदि सम्झौता भयो भने तत्काल पर्यटन क्षेत्रका एक हजार मजदुरले काम पाउने छन् ।’ यसले उहाँहरूलाई केही राहत पनि मिल्ने छ । सरकारले प्रधानमन्त्री कृषि कार्यक्रम। प्रधानमन्त्री स्वरोजगार कोष, सहकारीमार्फत स्थानीय तहमा नै रोजगारी सिर्जना गर्ने कार्यलाई अघि बढाएको छ ।

यूएनडीपीसँगको प्रारम्भिक छलफलअनुसार क्षेत्रगत रुपमा मजदुरहरूलाई हिमाल सरसफाइ, पदमार्ग निर्माण, काठमाडौंका सम्पदा सरसफाइ र नदी सरसफाइका लागि मजदुर परिचालन गरिनेछ ।हिमाल आरोहणमा संलग्नले पर्यटकी मजदुरलाई हिमाल सरसफाइ, पदयात्राका मजदुरले पदमार्ग निर्माण, टुरिष्ट गाइडको काम गर्नेले सम्पदा सरसफाइ र ¥याफ्टिङ पेसामा आबद्घले नदी सरसफाइमा काम गर्न लगाउने प्रारम्भिक छलफल भएको छ ।

कोभिड १९ का कारण सम्पूर्ण पर्यटन क्षेत्र प्रभावित भएकाले पर्यटन मजदुर बेरोजगार बनेका छन् । यस्तै पर्यटन क्षेत्रमा कति जनशक्ति कार्यरत छन् र तीनलाई कसरी व्यवस्थापन गर्ने सम्बन्धमा संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल भइरहेको बोर्ड र व्यवसायी संघ संस्थाले बताएको छ । पर्यटन क्षेत्रको यथार्थ तथ्य संकलनका लागि बोर्डले अनलाइन सर्वेक्षण सुरु गरेको पनि गरेको छ । पर्यटन क्षेत्रमा तत्काल करिब १० हजार मजदुर बेरोजगार भएको अनुमान  गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस