काठमाडौँ । ट्रायलका लागि ल्याएको बिमा पोलिसी ‘कोभिड–१९ बिमा’मा सर्वसाधारणको आकर्षण देखिएकोले यो अन्तर्राष्ट्रिय रूपमा नै उदाहरण बनेको बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आइतबार आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विपन्न वर्गहरूलाई लक्षित गर्दै ल्याइएको पोलिसीमा आकर्षण देखिएको बताएका हुन् ।
न्यून आय भएको वर्ग र फ्रन्ट लाइनमा बसेर काम गर्ने सुरक्षाकर्मी र अत्यावश्यक सेवा प्रदान गर्नेका लागि समितिले कोरोना बिमा लेख जारी गरेको उनको बताए । चापागाईँले भने, “सामाजिक दायित्वबाट बिमा क्षेत्र अलग रहन सक्दैन । यो ट्रायलको लागि सुरु गरेका हौँ । र, यसले नतिजा पनि राम्रो ल्याउँदै गएको छ ।” उनले अगाडी थपे, “विदेशी कम्पनीले पुनर्बिमा नगर्ने भएकाले कोरोना बिमा सानो रकमको मात्रै पोलिसी जारी गरिएको हो।”
कोरोना बिमा सुरु भएको एक सातामै ७ सय १९ पोलीसी बिक्री भएको र १० हजार ७ सय २९ जना बिमितबाट ५७ लाख रुपैयाँभन्दा बढी प्रिमियम सङ्कलन भइसकेको छ ।
सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले बीमाको सिद्धान्त समयअनुसार परिमार्जित हुने र नेपालले यसलाई सफल बनाएर प्रमाणित गर्ने बताए । चापागाईँले भने, “कतिपयले पत्रिकामा लेख नै लेखेर यो महामारीको अवस्थामा पनि सामाजिक उत्तरदायित्व बहन गरेको मैले स्पष्ट पारिसकेको छु । यस्तो अवस्थामा हामीले काम नगर्दा ‘बिमा समिति के हेरेर बसेको ?’ भन्ने प्रश्न आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै यो व्यवस्था गरेका हौँ ।”
कोरोना बिमाले सामाजिक उत्तरदायित्वको विषयमा पनि नयाँ मान्यता स्थापित गराउने दाबी उनले गरेका छन् । यसले नेपाली बिमा कम्पनी टाट पल्टिने र व्यापक प्रिमियम सङ्कलन गरेर व्यापारी पोस्यो भन्ने दुवै खालका टिप्पणी भएको भन्दै उनले कम्पनी टाट पल्टने अवस्था आएमा त्यति बेला नै यसमा पुनर्विचार गर्ने बताए ।
त्यस्तै व्यापक सहभागिता भएर धेरै नाफा कमाउने अवस्था आएमा सबै कम्पनीसँग बसेर कोरोना उपचारकै लागि सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्ने तर त्यसलाई ‘मिसयुज’ गर्ने अवस्था नआउने उनले बताए ।
कार्यक्रममा बोल्दै बिमक सङ्घका उपाध्यक्ष तथा लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले कोरोना बिमा गर्दा बिमा कम्पनी टाट पल्टने अवस्था नआउने दाबी गरे । कोरोनाको बिमा गर्न सकिन्छ भन्ने कुरामा बिमा कम्पनी आशावादी रहेको उनले बताए ।
बिमा कम्पनी आत्तिनु नपर्ने
अध्यक्ष चापागाईँले यो वर्ष र अगामी वर्ष कोरानाले बिमा क्षेत्रमा असर पर्ने अवस्था नदेखिएको समेत बताएका छन् । उनले फागुन मसान्तसम्म जीवन बिमा कम्पनीले ६२ अर्ब र निर्जीवन बिमा कम्पनीले १८ अर्ब प्रिमियम सङ्कलन गरिसकेकोले अहिले नै आत्तिनु पर्ने नरहेको बताए ।।
यो रकम गत वर्षको यही अवधिको तुलनामा जीवनतर्फ २० र निर्जीवनतर्फ ३ प्रतिशत बढी भएको बताउँदै उनले भने,“चैत मसान्तको अनुमानित तथ्याङ्कअनुसार जीवन बिमा कम्पनीले ८५ अर्व र निर्जीवन बिमा कम्पनीले २५ अर्व रुपैयाँभन्दा बढी प्रिमियम सङ्कलन गर्नेछन् ।”
बिमा कम्पनीहरूलाई अनलाइनमार्फत बिमा सेवा प्रदान बिमा समितिले सहायो गरिरहेको चापागाईँले बताए । यसका लागि समितिले आवश्यक सहयोग गरेको बताउँदै उनले भने, “निर्जीवन बिमातर्फ अनलाइनबाट पनि पोलिसी बिक्री भइरहेको छ त्यसका लागि बिमा समितिले धेरै कुरामा छुट पनि दिएको छ ।”
लकडाउनमा बैंकिङलगायत अन्य वित्तीय क्षेत्रले जस्तै बिमा क्षेत्रमा पनि सीमित सेवा प्रदान गरिरहेको उनले जानकारी दिए । सो अन्तर्क्रियाका अर्का सहभागी जीवन बिमक सङ्घका अध्यक्ष शिवनाथ पाण्डेले कोरोनाको कारण बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएको र यसले बैङ्कहरूको आम्दानी घट्ने, बोनस तथा मुनाफा दुवैमा प्रभाव पर्ने बताए ।
उनको सो दलिलको जवाफ दिँदै अध्यक्ष चापागाईँले बैङ्कहरूले ब्याज घटाए पनि तत्काल पुराना जीवन बिमा कम्पनीको बोनसमा प्रभाव नपर्ने दाबी गरे । नयाँ जीवन बिमा कम्पनीमा भने त्यस्तो प्रभाव पर्न सक्ने कुरामा उनी सहमत देखिन्थे ।
बिमा कम्पनीहरूलाई आश्वस्त पार्दै चापागाईँले भने, “महाविपत्ति कोष पनि रहेको छ । बिमा कम्पनीको अवस्था नराम्रो हुने र नाफा नआउने अवस्था भएमा उक्त कोषलाई पनि प्रयोग गर्न सकिन्छ । म सबै बिमा कम्पनीलाई निर्धक्क भएर काम गर्न आग्रह गर्छु।”
चापागाईले महामारीका कारण आर्थिक अवस्था कमजोर भएर पोलिसी सरेन्डर गर्ने अवस्था आउन नदिने प्रयासबारे पनि छलफल भइरहेको जानकारी दिए । त्यसलाई रोक्ने सकिनेमा उनी विश्वस्त देखिन्थे । उनको भनाई थियो, “सबैलाई समस्या पर्दा, बिमालाई पनि परेको भन्दै कोरोना महामारी पन्छी, कृषि तथा व्यावसायिक क्षेत्रमा सुधार भए निर्जीवनतर्फको प्रिमियम बढ्छ ।”
प्रतिक्रिया दिनुहोस