काठमाडौं । पर्यटन क्षेत्रमा कोभिड–१९ ले पारेको असरलाई माथि उकास्न २० अर्ब रुपैयाँ बराबरको प्याकेजको आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अनलाईन छलफलका क्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रका लागि तत्काल २० अर्बको प्याकेजको व्यवस्थापन बजेट मार्फत नै गर्ने बताएका हुन ।
पर्यटन व्यवसायीमा परेको असरलाई कम गर्न सरकारले कम्तीमा १ वर्षसम्म ब्याजदर र किस्ता तिर्न नपर्ने र ३ वर्षसम्म ऋणको किस्ता तिर्ने अवधि लम्ब्याउनु पर्ने बताएका छन् । बोर्डले पदयात्रा व्यवसायी, होटल व्यवसायी, र्याफ्टिङ व्यवसायी लगायत पर्यटनसँग सरोकार राख्ने सबैसँग सल्लाह लिएर पर्यटन क्षेत्रलाई आवश्यक पर्ने सुझाव बुझाएको जानकारी दिएका छन । बोर्डको तथ्यांक अनुसार पर्यटन क्षेत्रमा कोरोनाले असर गर्दा १६ देखि २० लाख मानिसहरु प्रभावित भएका छन् ।
सरकारी कमजोरीका पर्यटन क्षेत्रको तथ्यांक संकलन ढिलाई भएरहेको होटल एसोसिएसनकी अध्यक्ष सृजना राणाले आरोप लगाइन । उनले भनिन, 'यो विपदको बेलामा मात्र तथ्यांक खोज्ने होइन सरकारको तलब भक्ता खाएर बसेका कर्मचारीलाई होटल एसोसिएसनको सदस्यहरुले त विवरण त दिइसकेका छौं तर, पर्यटन व्यवसाय भनेको होटल एसोसिएसनमा आवद्ध भएका मात्र होइनन् ।'
होटलहरुको प्रति महिना एक अर्ब ८० करोड बराबरको नोक्सान हुने गरेको उनले बताइन । उनले भनिन, 'पर्यटन वर्ष मनाउन भनेर हामी सबै तयारी अबस्थामा लागि रहेका थियौं यस्तो अबस्था आउदा भनेर सकैले पनि कल्पना पनि गरेका थिएनौं । अब पर्यटन वर्षको सपना त चकनाचुर नै भयो ।'
पर्यटन क्षेत्रका लागि स्थल र हवाई मार्ग सबैबन्द भइसकेपछि यो क्षेत्रमा अबको करिब डेढ वर्षसम्म एक थोपा पनि कमाई नहुने र एक जना पनि विदेशी नेपाल आउने अबस्था नभएको उनको भनाइ थियो ।
अहिले होटल क्षेत्रमा नयाँ बनिरहेका होटलहरुको धेरै ऋण र पुराना होटलहरुको आम्दानीको ४५ प्रतिशत कर्मचारी व्यबस्थापनमा नै खर्च हुने गरेको उनले जानकारी गराइन । अब सरकारले कर्मचारी र लगानीकर्ताबीचमा बसेर समस्या समाधान गर्न समेत माग गरिन ।
बजेट निर्माणका क्रममा रहेकाले पर्यटन व्यवसाय क्षेत्रबाट लिइएको ऋणका कम्तिमा २ वर्ष व्याज नलिने ब्यवस्था मिलाउन नेपाल टेकिंग एजेन्टस एसोसिएसनका अध्यक्ष खुमबहादुर सुबेदीले माग गरे । उनले भने, 'ठूला लगानीका पर्यटन व्यवसायमा बैंकले ऋण दिएको होला तर पर्यटन क्षेत्रमा साना व्यवसाय जुन कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने सञ्चालन खर्चको जोहो गर्न अप्ठ्यारो परेकालाई २ प्रतिशत ब्याजमा २०-२५ लाख ऋण उपलब्ध गराउने वातावरण बनाउन पर्ने बताए ।'
प्रतिक्रिया दिनुहोस