aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

झण्डाचुलीमा राष्ट्रिय झण्डा, पर्यटन प्रवद्र्धनमा जोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ बैशाख २०७६
झण्डाचुलीमा राष्ट्रिय झण्डा, पर्यटन प्रवद्र्धनमा जोड

धादिङ, वैशाख ३ । महाभारत पर्वत श्रृङ्खलाअन्तर्गत धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा राष्ट्रिय झण्डा गाडिएको छ । नयाँ वर्षको पहिलो दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलद्वारा थाक्रे गाउँपालिका– ३ मा रहेको झण्डाचुलीको चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा राष्ट्रिय झण्डा स्थापना गरिएको हो ।  

पर्यटनको प्रच्युर सम्भावना बोकेको भूमिचुली क्षेत्रको सबै भन्दा अग्लो झण्डाचुलीमा २०३२ साथ तिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहासलाई स्मरण गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रवद्र्धन नागरिक अभियानको आयोजनामा झण्डा स्थापना गरिएको हो । 

मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे र गल्छी गाउँपालिकाको संगमस्थल झण्डाचुलीलाई एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको उपाध्यक्ष कँडेलले बताए । ऐतिहासिक, प्राकृतिक र धार्मिक महत्व बोकेको यस क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भएकाले आफुले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले भने–‘सरकारले अगाडि बढाएको समृद्ध नेपाल सुखी नेपाली अभियान बनाउन मुल संवाहकको रुपमा पर्यटनलाई महत्वपूर्ण अंगको रुपमा लिएका छौं ।’ 

आदिबासी जनजाती तामाङ र चेपाङको बसोबास रहेको यस क्षेत्रमा नयाँ पदमार्ग खोल्न यही वर्ष अध्ययन हुने उनले बताउनुभयो । उनले भने–‘महाभारत पर्यटनका लागि खोलिएको थिएन । यो मार्ग नयाँ प्रयोग पनि हुन्छ । यो काठमाडौं, नारायणगढ र हेटौंडाको बीचमा परेकाले यसको सम्भावना धेरै छ । यस क्षेत्रमा बस्ने तामाङ र चेपाङ जातिको उत्थानका लागि पनि यस मार्गले ठुलो भूमिका खेल्छ ।’ उनले पाँच वटा पालिकालाई जोड्न तत्काल सडक निर्माण गर्नुपर्ने भएकाले प्रदेश सरकारलाई यसलाई प्राथमिकतामा राख्न अनुरोध गर्ने बताए । 

गाँजा पदमार्ग मारिजोना ट्रेकिङ ट्रायल राखौं  : त्रिपाठी
कार्यक्रममा धादिङ क्षेत्र नं. १ का सांसद भुमि त्रिपाठीले यस क्षेत्र हुँदै अध्ययन गर्न लागिएको चनदागिरी चेपाङहिल पदमार्गलाई गाँजा ट्रेकिङ ट्रायल नाम राख्न प्रस्ताव गरेका छन् । यस क्षेत्रमा अत्याधिक उत्पादन हुने गाँजाको महत्व र बारे प्रष्ट पार्दै त्रिपाठीले पदमार्गको नामै गाँजा हिल राख्ने बताए । ‘गाँजा ओसार पसार गर्न प्रतिबन्धित छ । तर, नाममा प्रतिबन्ध छैन नि !’
अर्को उदाहरण दिँदै भने–‘गैंडा मार्न बेच्न पाइँदैन । तर, गैंडाको नाममा कति प्रतिष्ठानहरु खुलेका छन् । गाँजा विकसित राष्ट्रहरुले लागुऔषध होइन, यो मेडिसिन हो भनेर खुल्ला गरिसकेको छ । हामीले पनि यो अभियान शुरु गरिसकेका छौं । संसदभित्र यो विषयले प्रवेश पाइसकेको छ । गाँजा ओसारपरास गरेको, भरिया भएको निहँुमा हाम्रा दाजुभाई जेल परेका छन् । जसले यो प्रतिबन्धित भनेको थियो उसैले खुल्ला गरिसकेको छ भने हामी किन नगर्ने ? ओसार पसार गर्न पाइन्न, पर्यटकलाई औषधिको रुपमा चखाउन सकिन्छ ।’ हाम्रो जंगलमा त्यत्तिकै उम्रिने गाँजालाई हामी पर्यटक आकर्षित गर्ने प्रडक्ट बनाउन सक्छौं भन्दै उहाँले यस क्षेत्रको समृद्धिका निम्ति गाँजा हिललाई स्थापित गर्न लागिपर्ने बताए । 
 

प्रतिक्रिया दिनुहोस