
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कोरोना भाइरसबाट सङ्क्रमितलाई निको पर्ने औषधि बनिसकेको भन्दै त्यसलाई ठुलो उपलब्धिको संज्ञा समेत दिए । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थलाई उदृत गर्दै उनले रेम्दीसिभिर नामक औषधिले कोरोना निको भएको दाबी समेत गरे ।
यही कुरालाई मूलधारका भनिएका विश्वका ठुला सञ्चारमाध्यमले समेत निकै उत्साहित हुँदै प्रसारण गरे । सिएनएनले ‘कोरोना भाइरसको औषधि बारे सुखद समाचार’ भन्दै प्रसारण गर्यो । फक्सले ‘कोरोना निको हुने समय आएको’ लेख्यो । न्यु योर्क टाइम्सले ‘परीक्षणको सकारात्मक नतिजा’ भन्दै खुसी सञ्चार गर्यो ।
यदि सामान्य अवस्था थियो भने यो कुरा यती धेरै प्रचार गरिँदैनथ्यो । किनकि वास्तवमा कुनै कुनै नयाँ औषधि बनेको वा प्रमाणित भएको अवस्था थिएन । फेरि किन यो प्रचारबाजी त ? वास्तवमा कुरा अर्कै रहेछ ।
अमेरिकी राष्ट्रपति जतिसक्दो चाँडै मानिसहरू काममा फर्किउन् भन्ने चाहन्छन् । उनी त्यहाँका राज्यहरूले जारी गरेको लकडाउन छिटो अन्त्य होस् भनेर लकडाउनको अवज्ञा गर्ने आन्दोलनकारीलाई सहयोग गरिरहेका छन् । उनी मिडियाको सहयोगमा अब भाइरस नियन्त्रणमा आइसक्यो भन्ने प्रचार गर्ने योजना अनुसार यस्तो झुटो कुरालाई महत्त्वका साथ घोषणा गर्दै थिए ।
यो घटनामा सबैभन्दा उल्लेखनीय र संशययोग्य कुरा त यो छ कि नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सीयस डिजिजका निर्देशक एन्थोनी फौसीले यस्तो घोषणा किन गरे ? यसमा दुइमत छैन कि उनलाई राजनीतिक दबाब थियो । उनले वैज्ञानिक उपलब्धि बताउन वा जान साधारणलाई खुसीको सूचना दिन पक्कै त्यसो गरेनन् ।
यो किन भनियो भने नेशनल इन्स्टिच्युट अफ हेल्थले जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड-१९ का कारण श्वास प्रश्वासमा समस्या भएका बिरामीहरूमा रेम्दीसिभिरले ११ दिनमा काम गरेको देखिएको उल्लेख छ । त्यसको ठाउँमा प्ल्यासिबो दिइएका बिरामीमा १५ दिनमा मात्र सुधार देखिएकोले यो ३१ प्रतिशत बढी प्रभावकारी रहेको भनिएको छ ।
त्यही विज्ञप्तिमा के पनि भनिएको छ भने यो औषधिका कारण मृत्युदर ११.६ प्रतिशतबाट घटेर ८ प्रतिशतमा झर्यो । जबकि त्यसमै फौसिले यसको कुनै तथ्याङ्कगत महत्त्व भने नरहेको जनाएका छन् । मानौँ यदि त्यसको महत्त्व हुन्थ्यो भने पनि यो औषधिले स्वास्थ्य अवस्था जटिल भएका बिरामीलाई भने कुनै सहयोग गर्न नसक्ने पक्का थियो । न त यो औषधिका अन्य कुनै परीक्षण सफल भएका छन् ।
बरु उता चीनमा भएको यसै माथिको परीक्षणको नतिजा बुधवार नै सार्वजनिक गरिएको थियो । लेन्सेटले जारी गरेको सो रिपोर्टमा रेम्दीसिभिर प्रयोग गरिएका बिरामीको मृत्यु प्लासिबो प्रयोग गरेका बिरामीको भन्दा ठुलो सङ्ख्यामा भएको उल्लेख गरिएको थियो ।
तर, चीनको सो अध्ययन रिपोर्टलाई बेवास्ता गर्दै फौसीले घोषणा गरे, “रेम्दीसिभिरले स्पष्ट रूपमा बिरामी निको हुने समय घटाएको देखिएको छ .....हामीलाई के लाग्छ भने अब कोरोना भाइरसको उपचारको लागि हामी समक्ष ढोका खुलिसकेको छ ।”
ट्रम्प प्रशासनले महामारी रोकिने अवस्था आएको देखाएर त्यहाँका उद्योगहरू खोल्ने योजना साथ यस्तो प्रचार गरेको केबाट पनि स्पष्ट हुन्छ भने त्यसको भोलिपल्ट नै उनले ठुला उद्योगीसँग बैठक गरेर काम सुचारु गर्ने योजना तयार गर्न भएका थिए ।
के कुरा स्पष्ट छ भने अमेरिकी उद्योगपति देखि बैङ्क सञ्चालकहरू पनि ठुलो सङ्ख्यामा कामदार र मजदुरलाई महामारीको जोखिममा राखेर भए पनि आफ्नो व्यापार, धन्दा चलाउने मुडमा छन् । अनि ट्रम्प आफ्ना तिनै सहयोगीको नाफाका लागि आम जनतालाई महामारीको चपेटामा धकेल्न तयार छन् ।
प्रतिक्रिया दिनुहोस