aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लकडाउनको मोडालिटीबारे समिती नै अन्योलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ बैशाख २०७७
लकडाउनको मोडालिटीबारे समिती नै अन्योलमा

काठमाण्डौ । चैत्र ११ गतेदेखि जारि लकडाउनलाई  वैशाख २५ गतेपछि कुन रुपमा निरन्तरता दिने भन्नेमा सरकार नै अन्योलमा रहेको देखिएको छ ।  लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे गृहकार्य भए पनि के गर्ने भन्ने ठोस अवधारणा बनाउन सरकारलाई सुझाव दिन गठित समितिले नसकेको जानकारी प्राप्त भएको छ ।

समितिले कोरोना सङ्क्रमण नदेखिएको क्षेत्रमा लकडाउन खुकुलो बनाउन सकिने प्रतिवेदन बनाए पनि उच्चस्तरीय समन्वय समितिकै कतिपय सदस्यहरुले यसमा असहमति जनाएका हुन् ।

सङ्क्रमण जोखिमका आधारमा अति प्रभावित र उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो क्षेत्रका रुपमा वर्गीकरण गरिएको छ । कोरोना सङ्क्रमण भेटिएका जिल्लालाई रातो क्षेत्रमा राखेर लकडाउन कायमै राख्नुपर्ने समितिको सुझाव छ । स्रोतका अनुसार सुझाव समितिले कोरोना सङ्क्रमण जोखिमका आधारमा मुख्य तीन क्षेत्र निर्धारण गरेको छ । कोरोना सङ्क्रमण अति प्रभावित, प्रभावित र सामान्य इलाका पहिचान गरेर त्यसैका आधारमा मोडालिटी बनाइएको छ ।

स्रोतका अनुसार  पहेंलो क्षेत्रमा पर्ने जिल्लामा लकडाउन रातो क्षेत्र भन्दा केही खुकुलो तथा हरियो क्षेत्रमा भने दूरी कायम गर्नेगरी आवश्यक गतिविधि सञ्चालन गर्न सकिने समितिको सुझाव छ । 

सरकारी कार्यालय भने दुई सिफ्टमा सञ्चालन गर्ने र केही कर्मचारी मात्रै काममा खटाउने सकिने समितिले सुझाव दिएको छ । समितिका अनुसार हरियो क्षेत्रमा शैक्षिक संस्था सञ्चालन गर्न उपयुक्त देखिन्छ तर रातो र पहेंलो क्षेत्रमा शैक्षिक गतिविधि हुने छैनन् । 

स्रोतका अनुसार मंगलबार या बुधबार बस्ने उच्चस्तरीय समितिको बैठकले यसबारे टुंगो लगाएपछि मन्त्रिपरिषदले निर्णय गर्नेछ । सरकारले पछिल्लोपटक वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याएको हो ।

प्रतिक्रिया दिनुहोस