
इरान । केही दिनयता इरानमा कोभिड-१९ को महामारी फेरी बल्झिएको छ । त्यहाँ ठुलो क्षति पश्चात कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख रहेको थियो । अहिले पुनः कोरोना संक्रमणका घटना बढ्न थालेपछी चिन्ता ब्यक्त गर्न थालिएको छ ।
इरानमा विहीबार विहानसम्म थप एक हजार ६ सय ८० नयाँ बिरामी देखिएका छन्। ११ अप्रिलयता एकैदिनमा त्यति धेरै नयाँ बिरामी फेला परेको यो पहिलोपटक हो। यससँगै इरानमा कोरोना भाइरस संक्रमणका बिरामी एक लाख नाघेका छन्।
मध्यपूर्वका देशमध्ये कोभिड-१९ को सबैभन्दा ठूलो चपेटामा इरान छ। “पछिल्ला ३-४ दिनमा कोरोना भाइरस संक्रमणको केस एकाएक बढेको छ,” इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने, “यो मानिसहरू अनावश्यक यात्रामा निस्किनुको परिणाम हुन सक्छ।”
बीबीसीका अनुसार इरानले ११ अप्रिलदेखि लकडाउन खुकुलो बनाएको थियो। र, कम जोखिमवाला इलाकामा मस्जिदहरू पनि खोलेको थियो। पछिल्लो २४ घण्टामा इरानमा कोभिड-१९ का कारण ७८ जनाको मृत्यु भएको छ। त्यससँगै मृतक संख्या ६ हजार चार सय १८ पुगेको छ।
प्रतिक्रिया दिनुहोस