
काठमाडौं । कपिलवस्तु जिल्लामा १६ र २२ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमित भेटिएका छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।
प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । उनीहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । हिजो मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए ।
यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन् । भोलि ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन् । उनिहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।
प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस