पोखरा । सुन्दर हिमशृङ्खला, सूर्योदय र सूर्यास्त, पोखरा शहरसहित तालतलैयाको एकैपटकमा नजर गर्दै पर्यटक शहर कास्कीको शहर सराङकोट डाँडा चिनिने गरिन्छ । यही सुन्दर फेवाको किनारबाट केबलकारमा चढेर ताल र हिमाल हेर्दै सराङकोट चुचुरोमा पुर्याउनका लागि विश्वभरी लकडाउन भएको बेलामा पनि काम भइरहेको छ ।

अन्नपूर्ण केबलकार प्रालिले पोखरा महानगरपालिका–१८ को सेदी बगरदेखि सराङकोट दुई हजार २७५ मिटर जोड्ने गरी निर्माण भइरहेको कम्पनीका परामर्शदाता रोप वे नेपाल प्रालिका अध्यक्ष गुणराज ढकालले बताए ।

अहिले दैनिक ५० जना मजदुरले आवश्यक सुरक्षा उपाय अवलम्बन गरेर बाँकी निर्माण कार्य र डेकोरेसनको काम गरिरहेको उनले बताए । केवलकारको तल्लो र माथिल्लो दुवै स्टेसन भवनको फिनिसिङको काम सम्पन्न भएको छ । त्यसैगरी भ्यू टावर, दुवै स्टेसनमा गार्डेन, पार्किङसहितको संरचना निर्माण गरिएको छ ।

दुवै स्टेसनमा रेष्टुरेन्ट, कफी सप राख्ने तयारी छ । त्यसैगरी १४ वटा टावर निर्माण गरिसकिएको र सो टावरमा तार टाँग्ने र डिब्बा (गुण्डला) राख्ने काम मात्र बाँकी रहेको छ । 
केबलकारमा हाललाई १८ वटा गुण्डला जडान गरिने बताइएको छ । पछि चारवटा थप गर्ने योजना रहेको छ । गुण्डला, तारलगायत सबै सामग्री निर्माणस्थलमा आइसकेका छन् । सामग्री जडानका लागि जापानबाट दुईजना प्राविधिक आउनेछन् । 
एउटा डिब्बामा आठजना अट्ने क्षमता रहेको र प्रतिघण्टा ५०० जनाले यात्रा गर्न सक्ने बताइएको छ । अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ४५ मिनेट समय लाग्छ ।
आयोजना सञ्चालनका लागि शुरुमा एक अर्ब ५० करोड रुपैयाँ लगानी प्रक्षेपण गरिएकामा परियोजनाको निर्माणमा भएको ढिलाइसँगै १० करोड रुपैयाँ थप लगानी हुने कम्पनीले जनाएको छ । शुरुमा डेढ वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७४ मा शिलान्यास गरिएको थियो ।
आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा थप डेढ वर्ष समय व्यतित भइसकेको छ । स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानीमा सो आयोजनाको निर्माण भइरहेको छ ।






तस्विर सौजन्य : गुणराज ढकाल
प्रतिक्रिया दिनुहोस