
पोखरा । सुन्दर हिमशृङ्खला, सूर्योदय र सूर्यास्त, पोखरा शहरसहित तालतलैयाको एकैपटकमा नजर गर्दै पर्यटक शहर कास्कीको शहर सराङकोट डाँडा चिनिने गरिन्छ । यही सुन्दर फेवाको किनारबाट केबलकारमा चढेर ताल र हिमाल हेर्दै सराङकोट चुचुरोमा पुर्याउनका लागि विश्वभरी लकडाउन भएको बेलामा पनि काम भइरहेको छ ।
अन्नपूर्ण केबलकार प्रालिले पोखरा महानगरपालिका–१८ को सेदी बगरदेखि सराङकोट दुई हजार २७५ मिटर जोड्ने गरी निर्माण भइरहेको कम्पनीका परामर्शदाता रोप वे नेपाल प्रालिका अध्यक्ष गुणराज ढकालले बताए ।
अहिले दैनिक ५० जना मजदुरले आवश्यक सुरक्षा उपाय अवलम्बन गरेर बाँकी निर्माण कार्य र डेकोरेसनको काम गरिरहेको उनले बताए । केवलकारको तल्लो र माथिल्लो दुवै स्टेसन भवनको फिनिसिङको काम सम्पन्न भएको छ । त्यसैगरी भ्यू टावर, दुवै स्टेसनमा गार्डेन, पार्किङसहितको संरचना निर्माण गरिएको छ ।
दुवै स्टेसनमा रेष्टुरेन्ट, कफी सप राख्ने तयारी छ । त्यसैगरी १४ वटा टावर निर्माण गरिसकिएको र सो टावरमा तार टाँग्ने र डिब्बा (गुण्डला) राख्ने काम मात्र बाँकी रहेको छ ।
केबलकारमा हाललाई १८ वटा गुण्डला जडान गरिने बताइएको छ । पछि चारवटा थप गर्ने योजना रहेको छ । गुण्डला, तारलगायत सबै सामग्री निर्माणस्थलमा आइसकेका छन् । सामग्री जडानका लागि जापानबाट दुईजना प्राविधिक आउनेछन् ।
एउटा डिब्बामा आठजना अट्ने क्षमता रहेको र प्रतिघण्टा ५०० जनाले यात्रा गर्न सक्ने बताइएको छ । अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ४५ मिनेट समय लाग्छ ।आयोजना सञ्चालनका लागि शुरुमा एक अर्ब ५० करोड रुपैयाँ लगानी प्रक्षेपण गरिएकामा परियोजनाको निर्माणमा भएको ढिलाइसँगै १० करोड रुपैयाँ थप लगानी हुने कम्पनीले जनाएको छ । शुरुमा डेढ वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७४ मा शिलान्यास गरिएको थियो ।
आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा थप डेढ वर्ष समय व्यतित भइसकेको छ । स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानीमा सो आयोजनाको निर्माण भइरहेको छ ।
तस्विर सौजन्य : गुणराज ढकाल
प्रतिक्रिया दिनुहोस