aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बारा र पर्सा जिल्लामा सेना परिचालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
बारा र पर्सा जिल्लामा सेना परिचालन

काठमाडाैं । काेराेनाभाइरस संक्रमितकाे संख्या ह्वात्तै बढेपछि मङ्गलवार राति ८ बजेदेखि जेष्ठ ५ गतेसम्म पर्सा जिल्लामा निषेधाज्ञा जारी भएको छ । 

याे निर्णय स्थानीय प्रशासन ऐन २०२८ अनुसार नेपाली सेनालाई परिचालन गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायका अनुसार बाराका भनिएका दिउँसो पुष्टि भएका सङ्क्रमित पर्सामा बस्दै आएका व्यक्ति हुन् ।

थप सङ्क्रमण देखिएपछि बारामा पनि निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पर्सामा सङ्क्रमण पुष्टि भएकामध्ये दुई जना पत्रकार रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए ।

सङ्क्रमितहरू वीरगन्ज महानगरपालिका र छिपहरमाई गाँउपालिकाका रहेका छन् ।

छिपहरमाई गाउँपालिकाका सङ्क्रमितहरू लकडाउनकै समयमा १७ दिनअघि बागलुङबाट बसमा वीरगन्ज आएका थिए ।

उक्त बसमा ४२ जना आएका थिए र ती सबैलाई छिपहरमाई गाउँपालिकाको क्वारन्टीनमा राखिएको थियो ।

तीमध्ये सङ्क्रमण देखिएका १४ जनामध्ये एक भारतीय नागरिक रहेको छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार राति जारी गरेको प्रेस विज्ञप्तिमा थप नयाँ २६ जनाको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण देखिएकाहरूको सङ्ख्या २१७ पुगेको मन्त्रालयले जनाएको छ। अपराह्ण ५७ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।

मङ्गलवार एकै दिनमा ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो अहिलेसम्मकै एकै दिनमा पुष्टि सर्वाधिक सङ्ख्या हो ।

मङ्गलवार राति सङ्क्रमण पुष्टि भएकाहरूको नमुना परीक्षण काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको थियो ।

अब प्रदेश नं २ मा भेटिएका सङ्क्रमितको सङ्ख्या ९५ पुगेको छ। यो अहिलेसम्म सबै प्रदेशमा देखिएकोमध्ये सर्वाधिक सङ्ख्या हो। प्रदेश नं २ मा भेटिएका चार जना निको भइसकेका छन्।

प्रदेश नं ५ मा ७० सङ्क्रमित छन्। कर्णाली प्रदेशमा भने अहिलेसम्म कसैमा पनि कोभिड-१९ पुष्टि भएको छैन ।

अपराह्ण आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभरि १२,७८५ जना क्वारन्टीनमा र २२८ जनालाई आइसोलेशनमा राखिएको जानकारी दिएका थिए।

मन्त्रालयको तथ्याङ्कमा मङ्गलवार अपराह्णसम्म पीसीआर विधिवाट १८,९६४ वटा परीक्षण भएको देखिन्छ ।

को हुन् नयाँ सङ्क्रमित ?
नयाँ सङ्क्रमण पुष्टि भएकाहरू पर्सा, महोत्तरी, धनुषा, भक्तपुर, काठमाण्डू र सर्लाही जिल्ला निवासी महिला तथा पुरुषहरू रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सबै नयाँ सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका बताएको छ ।
अहिले सङ्क्रमण पुष्टि भएको घोषणा गरिएका २६ जनामा पर्साका छ महिला र १२ पुरुष गरी १८ जना, महोत्तरीका दुई जना पुरुष, धनुषाका एक पुरुष र एक महिला गरी दुई जना तथा सर्लाहीका एक पुरुष छन् ।

त्यसैगरी भक्तपुरकी एक महिला र एक पुरुष गरी दुई जना, काठमाण्डूकी एक महिला रहेका मन्त्रालयको विज्ञप्तिमा गरिएको उल्लेख छ ।

बीबीसीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस