aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नर्समा कोरोना सङ्क्रमण पुष्टि भएपछि उठेको प्रश्न- के स्थिति भयावह भएको हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
नर्समा कोरोना सङ्क्रमण पुष्टि भएपछि उठेको प्रश्न- के स्थिति भयावह भएको हो ?

काठमाडौँ । काठमाडौँमा नै एक नर्समा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना भाइरसको महामारी फैलावट बारे नयाँ चुनौती थपिएको छ । अस्पतालमा काममा नै नगएकी ती स्वास्थ्यकर कसरी सङ्क्रमणमा पुगिन् भन्ने प्रश्न अहम् बनेको छ ।

विगत केही समय देखी झापा स्थित घरमा बसेर फर्किएकी ती नर्स वास्तवमा कहाँ र कसरी सङ्क्रमणमा परिन् भन्ने कुरा खुल्न सकेको छैन । तर, स्वास्थ्य सुरक्षा बारे विशेष ज्ञान भएकी ती नर्स नै यसरी एकाएक सङ्क्रमित पाइनुले समुदायमा कोरोना सङ्क्रमणको अवस्था कस्तो होला भन्ने अनुमान लगाउन सकिन्छ ।

अस्पताल स्रोतले बताए अनुसार ती नर्स अहिलेसम्म अस्पताल आएकी थिइनन् । उनी झापा घर गएकी थिइन् र वैशाख २९ गते त्यहाँबाट फर्केकी हुन् । आरोग्य फाउन्डेसनले सञ्चालन गरेको  मिर्गौलाका बिरामीको डाइलासिस युनिटमा काम गर्ने ती नर्सलाई अस्पतालले काठमाडौँ बाहिरबाट आएको हुनाले पहिले कोरोना टेस्ट गरेर मात्र काममा फर्कन भनेको थियो । 

सोही अनुसार उनी अस्पतालको एम्बुलेन्स मार्फत टेकु गएर स्वाब परीक्षणका लागि दिएकी थिइन् । उनी सँगै आरोग्य फाउन्डेसनमा डाइलासिस गराइरहेका एक बिरामी पनि साथै गएका थिए । सो एम्बुलेन्सका ड्राइभर र ती बिरामीको कोरोना परीक्षण गरिँदै छ ।
उनीहरूको सम्पर्कमा विगत ४८ घण्टामा पुगेकाको खोजी गरिँदै छ । त्यसै गरी ती नर्स झापा हुँदा र फर्कँदा उनको सम्पर्कमा आएका मानिसको पनि पहिचान गर्ने काम सुरु भएको बताइएको छ ।

स्रोतका अनुसार भक्तपुर डेरा गरी बस्ने ती नर्ससँगै एकै कोठामा बस्ने अर्की नर्स भने सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत छिन् । तर, उनी पनि २६ गते देखि नै सो अस्पतालमा नगएकी हुनाले अहिले उनलाई मात्र आइसोलेशनमा राखिएको छ ।

निदान  अस्पतालकी नर्स कोरोना सङ्क्रमित भएपछि बुधवारबाट अस्पताल सिल गरिएको छ । हिजो मङ्गलवार भक्तपुरमा भेटिएकी कोराना सङ्क्रमित युवती उक्त अस्पतालमा काम गर्ने नर्स भएकोले अस्पताल सिल गरिएको ललितपुर महानगरपालिका नगद प्रमुख चिरीबाबु महर्जनले आर्थिक न्युजले बताए ।

‘निदान अस्पतालमा काम गर्ने नर्स कोभिड–१९ सङ्क्रमित भएपछि आज बिहान जिल्ला प्रशासन कार्यालय ललितपुर र महानगरको समन्वयमा सिल गरिएको हो,’ उनले भने ‘भक्तपुर निवासी २५ वर्षीय महिला (नर्स) कोरोना सङ्क्रमित भएकी छिन् ।’
 
 

प्रतिक्रिया दिनुहोस