aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मन्त्रीज्यू, सूचना लुकाउँदा सङ्क्रमण रोकिन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
मन्त्रीज्यू, सूचना लुकाउँदा  सङ्क्रमण रोकिन्छ ?

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडार्इ गरेपछि सो निर्णयबारे पत्रकारहरूले विभिन्न टिप्पणी गरेका छन् ।

कोरोना सङ्क्रमणको बेला समेत अनेकौं आर्थिक अनियमिततालाई निरन्तरता दिने काम गरेकाले बारम्बार आलोचित बन्दै आएको यो मन्त्रालयले अब सूचना लुकाउने र मनमौजी गर्ने नयाँ रणनीति अवलम्बन गरेको हो ।

यसअघि समाचार सङ्कलनका लागि परिचय पत्र देखाएर स्वास्थ्य मन्त्रालयमा प्रवेश गर्न पाइन्थ्यो । तर, बुधवारदेखि भने सुरक्षाकर्मीले पत्रकारलाई गेट मै रोक्न थालेका छन् । जबकि अन्य कामको सिलसिलामा त्यहाँ पुग्ने अन्य मान्छेले भने निर्वाध प्रवेश पाइरहेका छन् ।  

पत्रकारलाई भने सुरक्षाकर्मीले ‘माथि फोन गर्नुस्, बोलाए मात्र जान पाउनुहुन्छ’ भनेर रोक्ने गरिरहेका छन् । पत्रकारप्रति अति नै अनुदार देखिएका मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र आफ्ना नजिककालाई आर्थिक लाभ हुने वा नहुने कुरालाई केन्द्रमा राखेर निर्णय गर्ने स्वभावका स्वास्थ्य मन्त्रीले पत्रकारबाट कोरोना सर्न सक्ने भन्ने बहानामा सूचनाको पहुँचलाई बन्द गराएको टिप्पणी स्वास्थ्य सम्बन्धी रिपोर्टिङ गर्दै आएका पत्रकारहरूले गरेका छन् ।

स्रोतका अनुसार सो मन्त्रालयले सूचना लुकाउने उद्देश्य सहित बुधवार कर्मचारीको बैठक नै बोलाएको थियो । सो क्रममा उच्च तहका कर्मचारीले सबै कर्मचारीलाई पत्रकार नभेट्न र आफू खुसी सूचना नदिन निर्देशन दिएका थिए । 

अहिले मन्त्रालयले कोरोना सङ्क्रमणसँग सम्बन्धित सूचना दिनमा एक पटक भिडियो मार्फत सार्वजनिक गर्ने गरेको छ । कोरोना सङ्क्रमणको रोकथाम र उपचारको निम्ति सरकारले ठूलो परिणाममा खर्च गर्नै पर्ने अवस्था आएको र यो बेला स्वास्थ्य मन्त्रालयले पत्रकारलाई रोक लगाएको घटना आम चिन्ताको विषय बनेको छ । 

स्वच्छ, पारदर्शी र बिना आर्थिक अनियमितता वर्तमान स्वास्थ्य मन्त्रालयको नेतृत्वले काम गर्ने कुरामा आम नागरिक आश्वस्त हुन नसकिरहेको बेला मन्त्रालयले लगाएको यो रोकले थप संशय सिर्जना गरेको छ ।  

कतिपयले चाहिँ जनतासम्म सहि सूचना पुग्न नदिने र पत्रकारलाई बाटो छेक्ने स्वास्थ्य मन्त्रालयले अवलम्बन गरेको तरिकालाई “सूचना लुकाएर सङ्क्रमण रोक्ने स्वास्थ्य मन्त्रालयको ‘मौलिक रणनीति’” भन्दै आश्चर्य मिश्रित ब्यङ्ग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस