
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जेठ १ गतेदेखि आवतजावतलाई कडाई गरेपछि सवारी पासका लागि विभिन्न नियामक निकायमा सम्पर्क गर्नका लागि शुक्रबार सूचना जारी गरेको छ। सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थालाई सरकारले तोकेका विभिन्न नियामक निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ।
नेपाल सरकारका कर्मचारीहरुको हकमा मन्त्रालय, संघीय संसद, सर्वोच्च अदालत तथा संवैधिक निकायहरूले पासका लागि आफ्नो निकायका सचिवलाई सम्पर्क गर्नुपर्नेछ।
सञ्चारकर्मी तथा मिडिया हाउसहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको सूचना विभागमा सम्पर्क गर्न भनेको छ । बैंक तथा वित्तीय संस्थासँग सम्बन्धीत सवारी पास चाहिएमा नेपाल राष्ट्र बैंक,इन्टरनेट वा दूरसञ्चारसँग सम्बन्धीत भए नेपाल दूरसञ्चार प्राधिकरण र बीमासँग सम्बन्धीत भएमा बीमा समितिमा सम्पर्क गर्नका लागि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।
त्यस्तै शेयर बजार वा धितोपत्र बजारसँग सम्बन्धीतलाई नेपाल धितोपत्र बोर्ड र सहकारीहरूलाई सहकारी विभागले पास दिने व्यवस्था मिलाएको प्रशासन कार्यालयले जनाएको छ।
व्यापार तथा वाणिज्यसँग सम्बन्धित कार्यका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र औद्योगिक उत्पादनसम्बन्धी कार्यमा संलग्न निकायहरूले उद्योग विभागमा सम्पर्क गर्नुपर्नेछ।
त्यसैगरी, जलविद्युत आयोजनाले ऊर्जा, जलस्रोत तगा सिँचाइ मन्त्रालयमा, राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास आयोजनाका कर्मचारीहरूले भने सम्बन्धित मन्त्रालयका सचिवसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
हवाई सेवा प्रदायक कम्पनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवलाई सम्पर्क गर्नुपर्ने छ। त्यस्तै, पाठ्यपुस्तक पसल र ढुवानीका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस