
काठमाडौँ । सरकारले कोरोना विरुद्धको लडाइमा पहिलो पंतिमा रहेका स्वास्थ्यकर्मीलाई जोखिममा पर्न नदिने रटान लगाइरहेको बेला देशकै चर्चित त्रिवि शिक्षण अस्पतालका नर्सहरू भने सामाजिक सञ्जाल मार्फत आफ्नो रोदन पोखिरहेका छन् ।
हालै महाराजगन्ज स्थित सो अस्पतालमा उपचाररत ७ वर्षीय बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएपछि एक प्रकारको आतङ्क नै सिर्जना भएको थियो । शनिवार सोही अस्पतालमा एक साता अघि उपचार गराएर फर्किएकी एक सुत्केरी महिलाको धुलिखेलमा मृत्यु भएपछि टिचिङ अस्पतालमा थप तनाव सिर्जना भएको छ ।
सो अस्पतालमा कार्यरत एक नर्सको फेसबुक स्ट्याटसले उनीहरूको मनोदशा स्पष्ट पार्छ । जसमा लेखिएको छ: "हाम्रो काम र कर्तव्य बुझाइएको छ,र बुझेका पनि छौ । विश्व नै कोरोना महामारीले आक्रान्त भइरहेका बेला हामी स्वास्थ्यकर्मचारीहरु झिनै होस् आशाको दियो भइरहेका छौ । दियो पनि त तेल थप्दै गयो भने न बल्ने हो । तेल थप्न छोडिदिए कति बेर हुन्छ र उज्यालो ?"
आफूहरू काम गर्न तयार रहेको सन्देश पनि त्यसमा छ, "हामी कति पनि विचलित भएका छैनौ किनभने हामीलाई तालिम दिँदा नै यस्ता महामारी फैलन सक्ने र त्यसको लागि आफ्नो ज्यान बचाए मात्र अरू थुप्रैको ज्यान बचाउन सकिने बारे घन्टौँ लाएर पढाइएको हुन्छ । ना कि आफ्नो सुरक्षा बेगर महामारी मा हाम फाल्न र एक एक गर्दै सारा दियो निभ्नुपर्छ भनिएको हुँदैन।"
आफ्नो कर्तव्य के हो भन्ने राम्रो हेक्का रहेको जानकारी पनि उनको पोस्टमा छ, "पढाई को सुरुवाती दिनमै जस्तो परिस्थिति मा पनि जिम्मेवारी बहन गर्छौँ भनेर शपथ ग्रहण गरेका हुन्छौ ।" आफ्नो इमानदारीको समेत त्यहाँ उल्लेख गरिएको छ । सदाचार प्रतिको लगाव उस्तै छ, "खाएको शपथ पुरा गर्न पाए हुन्थ्यो किनभने हामी अघि शपथ पछि चैँ घुस खाने खालका कर्मचारी होइनौँ ।"
माग भने सामान्य छ, "सुरक्षा कवच (पिपिइ) सम्पूर्ण स्वास्थ्य कर्मचारी लाई समानतापूर्वक दिइयोस् , हामी मानव प्रजाति एकै हो बाँच्ने रहर र अधिकार उस्तै हुन्छ ।"
प्रतिक्रिया दिनुहोस