aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

आरडिटी पोजेटिभपछि शङ्खरापुर सिल, कागेश्वरीमा २३ को पिसिआर नेगेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
आरडिटी पोजेटिभपछि शङ्खरापुर सिल, कागेश्वरीमा २३ को पिसिआर नेगेटिभ

काठमाडौं । शङ्खरापुर नगरपालिकामा बिहीबार २९० जनामा गरिएको आडिटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ ।

वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडिटीका क्रममा तिनमा पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र सिल गर्न लागिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताउनुभयो । इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुष्मा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडिटी गरिएको थियो ।
 
आरडिटीमा पोजेटिभ देखिएकालाई नगरपालिका वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारेन्टाइनमा राखिएको छ । पिसिआर परीक्षणको प्रतिवेदन नआएसम्मका लागि सबैलाई यहीँ राखिनेछ । क्वारेन्टनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गर्नेछ ।

आरडिटीमा पोजेटिभ देखिएकाको आज बिहान स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट काठमाडौँ उपत्यका बाहिरिने नाकासहित अन्य नगरपालिकासँग जोडिएका नाका पनि आज बिहान १० बजेदेखि सिल गरिने उहाँले बताउनुभयो । अर्को सूचना जारी नभएसम्मका नगर क्षेत्र भित्रिने र बाहिरिने सबै नाका पूर्णरूपमा बन्द गरिनेछ । शङ्खरापुरबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको फटकशिला र भोटेचौर छिर्ने नाका छ । यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका हुँदै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका जाने नाका पनि छ ।

कागेश्वरीमा २३ को आरडिटी पोजेटिभ 

राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा गरिएको कोरोना भाइरसको आरडिटीमा पोजेटिभ देखिएका २३ जनाको पिसिआर भने नेगेटिभ आएको छ ।  नगरपालिका क्षेत्रमा जोखिम भएका प्रहरी, महिला स्वयंसेविका, तरकारी व्यवसायी र मासु पसले गरी करीब २०० जनाको सोमबार गरिएको आरडिटीको प्रतिवेदनमा पोजेटिभ देखिएको थियो । आलापोट स्वास्थ्यचौकीमा भने १७५ जनामा गरिएको आरडिटीमा २१ जनालाई पोजेटिभ देखिएको कार्यालय प्रमुख जगत नेपालीले  जानकारी दिए । 
  
आरडिटीमा पोजेटिभ देखिएकाको त्यसै दिन पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । टेकुबाट बिहीबार बेलुकी सबैको परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखिएका सबैलाई घर पठाइएको उनले बताए । 
 
यसअघि आरडिटी प्रतिवेदन पोजेटिभ आएकामा १२ पुरुष र नौ महिला थिए । कोरोनाको आरडिटीमा पोजेटिभ देखिएपछि सो क्षेत्र सुनसान बनेको थियो । यसैगरी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा आरडिटी  गरी पोजेटिभ आएका दुई जनाको पिसिआर प्रतिवेदन पनि नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस