aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

‘पैसा र समानको चिन्ता नलिनुस’ सबैको उपचार राम्रोसंग होेस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
‘पैसा र समानको चिन्ता नलिनुस’ सबैको उपचार राम्रोसंग होेस

वीरगन्ज । कोरोना रोगको परिक्षण तथा  उपचारका लागी प्रदेश सरकारले नारायणी अस्तपताललाई भिटिएम किट लगायत विभिन्न प्रकारका स्वास्थ्य उपकरण एवम खानानास्ता व्यवस्थापनको लागी २५ लाख रुपैया प्रदान गरेको छ । वीरगन्ज स्थित मुख्यमन्त्री निवासमा आयोजित एक कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन प्रसाद उपाध्यायलाई उपरोक्त सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको हो ।

 मुख्यमन्त्री लालबाबु राउत तथा प्रदेश सभासदस्यहरुले कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई उक्त स्वास्थ्य सामग्री एवम चेक हस्तान्तरण गर्नु भएको थियो ।  प्रदेश सरकारले नारायणी अस्पताललाई प्रदान गरेको स्वास्थ्य सामगीहरु भिटिएम ९ सय ५० थान, मास्क ४ हजार थान, सर्जिकल ग्लब्स १ हजार जोडा, डिजिटल थर्माेमिटर ३० थान, स्यानीटाइजर २५ लिटर, पिपिई३० थान,  गमबुट २० थान र जनचेतना मुलक हाते पर्चा ५ सय थान रहेको छ ।

 यसका अतिरिक्त मुख्यमन्त्री राउतले संक्रमितहरुको खाना र खाजाको लागि राम्रो व्यवास्थापन गर्ने उदेश्यले  प्रदेश सरकारको निर्णय  अनुसार २५ लाख रुपैयाको चेक समेत मेसु उपाध्यायलाई हस्तान्तरण गर्नु भएको छ । कार्यक्रममा बोल्दै मुख्य मन्त्री  राउतले कोरोना रोग नियन्त्रण तथा उपचारको लागी प्रदेश सरकारबाट हुने सबै सहयोगहरु जारी रहने प्रतिवद्धता व्यक्त गरे । 

उनले कारोना रोगको नियन्त्रणका लागि परिक्षणलाई तिव्रता दिनु पर्ने बताउदै अस्पताल तथा आइसोलेशनहरुमा आएका संक्रमितहरुको खाना तथा नास्ताको पोषण युक्त राम्रो व्यवस्थापन गर्न नारायणी अस्पतालका प्रमुख उपाध्यायलाई निर्देशन दिएका थिए । मुख्यमन्त्री गद्दीले नारायणी अस्पताललाई चहिने सबै सहयोग प्रदेश सरकारले सकदो  प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै  भने ,‘अस्पताल आएका सबैको उपचार राम्रोसंग होस ,खाना नास्ता लगायत कुनै पनि प्रबन्धनमा कमि हुनु भएन,प्रदेश सरकार हर सम्भव तपाइ चिकित्सक कारोना योद्धाहरुको साथमा छ ।’

उनले प्रदेश सरकारले घोषणा गरे अनुरुप जनकपुर, विरगंज र राजविराज बाट कोरोना परीक्षणको लागि पिसिआर मसिन जडान गरि सकेको र थप पिसिआर मेसिनको लागि पहल समेत भइरहेको बताए । उनले विरामीहरुको संख्यामा वृद्धि भए पछि विरगंज र जनकपुरमा थप आइसोलेशन बेड निर्माणको प्रक्रिया समेत शुरु गरिएको उल्लेख गरे  । प्रदेश सरकारले हाल सबै जिल्लामा आइसोलेशन बेड निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको र थप जनशक्ति पूर्ति गर्ने काम समेत गरिसकेको बताए ।

उनले प्रदेशमा भारत लगायतका अन्यमुलुकबाट आउने नागरिकहरुको लागि नेपाली सेनाले संचालन गर्ने गरि विरगंजमा ५ सय सैयाको होल्डिङ्ग क्वरेन्टाइन, बारा र सप्तरीमा ५÷५ सय सैयाको प्रादेशिक क्वारेन्टाइन निर्माणको प्रक्रिया समेत शुरु भै सकेको जानकारी गराए ।

यस अघि प्रदेश सरकारले नारायण अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराउदै त्यसको  संचालनको लागि ५० लाख रुपैया समेत उपलब्ध गराएको छ । कोरोना महामारीले प्रदेशमै सबै भन्दा बढी प्रभावित रहेको पर्सा र बारा जिल्लाको संक्रमितहरुको उपचारमा समस्या हुन नदिन तथा सम्भावित संक्रमितको पहिचानमा कमि हुन नदिन नारायणी अस्पताललाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

मुख्यमन्त्री राउतले मानव सभ्यताकै लागि चुनौती बनेको कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले आफनो क्षमता अनुसारको पहलमा कुनै कमि हुन नदिने प्रतिबद्धता समेत जनाएका हुन ।

उक्त अवसरमा प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेशसभा सदस्य सिंग्घासन साह कलवार, जन्नत अन्सारी, प्रह्लाद गिरी,श्रीमती भिमा यादव वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी,पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र यादव, समाजवादी पार्टीका नेता सल्लाउद्दिन अन्सारी एवम पार्टीका नगर अध्यक्ष इश्वर यादवलगायतका नेताहरुको  उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस