aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

प्रहरीले कोरोनाभाइरस सङ्क्रमित बस्ने घर 'सील' गरेपछि…

  • बीबीसी
    बीबीसी
  • मंगलबार, १३ जेठ २०७७
प्रहरीले कोरोनाभाइरस सङ्क्रमित बस्ने घर 'सील' गरेपछि…

काठमाडाैं । आफूकहाँ बस्ने एकजना प्रहरी अधिकारीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि 'सील' गरिएको काठमाण्डूस्थित एक घरका व्यक्तिले सुरुमा अत्यास लागेपनि अहिले आफूले अवस्थालाई सामान्य रूपमा लिएको बताएका छन् ।

अघिल्लो हप्ता काठमाण्डूको कालीमाटी प्रहरी वृत्तमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई)मा कोरोनाभाइरसको सङ्क्रमण देखा परेपछि उनी डेरा गरी बसिरहेको सहित वरपरका ३ वटा घरलाई गएको बुधवारबाटै 'सील' गरिएको थियो ।

१८ वटा परिवारका ५६ जना बसिरहेको उक्त क्षेत्रमा रहेकाहरूलाई घरबाहिर समेत निस्कन नदिइकन राखिएको ६ दिनपछि मात्रै सोमवार स्वास्थ्य अधिकारीहरू नमुना सङ्कलनका लागि पुगेका थिए ।

स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको सङ्क्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिको को-को सँग सम्पर्क रह्यो भनेर पत्ता लगाउने प्रक्रिया 'कन्ट्याक्ट ट्रेसिङ्ग' तत्कालै गरिने गरिएको बताउने गरेको छ ।

‘कन्ट्याक्ट ट्रेसिङ’ भनिने प्रकियालाई प्राथमिकतामा राखिएको बताउने गरेको सरकारले काठमाण्डू महानगरपालिका वडा नम्बर दशमा 'सील' गरेर राखिएका तीनवटा घरका व्यक्तिहरूको परीक्षण सोमवार गरेको हो ।

सङ्क्रमित व्यक्ति बस्दै आएको घरका घरधनी रामकृष्ण सेढाईँ भन्छन्, “घर सील गरिएको अवस्थामा बस्नुपर्दा सुरुमा निकै अत्यास लाग्यो। तर कोरोनाभाइरसको महामारी यहाँ मात्रै होइन संसारभरि देखिएको हो भनेर मन बुझाइयो ।”

उनले गएको मङ्गलवार साँझ आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिलाई सङ्क्रमण देखिएपछि बुधवार प्रहरीले घरमा ताला लगाएर बस्नु भनेको सुनाए । त्यसपछि त्यहाँ प्रहरी खटाइएको थियो र जनप्रतिनिधि सहितको समन्वयमा सोमवार 'कन्टयाक्ट ट्रेसिङ' विधि अनुसार परीक्षण अघि बढाइएको हो । 

घरधनी सेढाईँ भन्छन्, “सङ्क्रमण भए नभएको राम्रोसँग पत्ता लगाउन पाँच दिनपछि परीक्षण गर्दा उपयुक्त हुन्छ भन्ने सुझाव प्रहरीबाट आएको थियो। त्यसबाहेक स्रोत साधनको अभाव रह्यो होला जस्तो पनि लाग्यो। त्यही भएर हामीले यसमा अन्यथा लिएका छैनौँ ।”

फोनबाटै किनमेल
उनले आफूले फोन गरेर दूध, तरकारी जस्ता अत्यावश्यक उपभोग्य सामानहरू मगाउने गरेको अनुभव सुनाए ।

“घर सील भएको दिन एकदमै डर लाग्यो। आफन्तहरूसँग फोनमा कुरा गर्न पनि मन लागेन। अहिले त संसारभरि नै यस्तै हो भन्ने सोचाइ आउँछ। अरूहरूले पनि हामी छौँ केही भयो भन्ने भन्नुस् भन्नुहुन्छ, खुसी पनि लाग्छ ।”

उनले मनोवैज्ञानिक प्रभाव परेको भन्दै दैनिक रूपमा आफूले छिमेकीहरूका हालखबर सोधिरहेको बताए ।

उक्त 'सील' गरिएको क्षेत्रका वडा सदस्य नरोज अर्यालका अनुसार सोमवार ४० जनामा पीसीआर विधि अनुसार परीक्षण गरिएको छ भने १० जनामा आरडीटी विधि अनुसार जाँच गरिएको छ।

५६ जनामध्ये ५३ मात्रै उपस्थित भएको र बाँकी नाबालक भएकाले सुरुमा अभिभावकको जाँचको परिणाम पर्खने सहमति भएको उनले बताए ।

त्यहाँ महानगरपालिकाले 'सील' गरिएका परिवारलाई खाद्यान्न सहित राहत वितरणमा सहयोग गरेको बताए ।

उनले शंका लागेका व्यक्तिका जैविक नमुना 'स्वाब' सङ्कलन गर्न आउने स्वास्थ्य मन्त्रालयको टोलीसँग पनि आफूहरूले समन्वय गरेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सङ्क्रमित व्यक्तिको उठबस रहेको क्षेत्र 'सील' गर्ने काम गृहमन्त्रालय र प्रहरी प्रशासनले गर्ने गरेको छ ।

उनका अनुसार, “कुनै व्यक्तिमा सङ्क्रमण भेटिएको २४ देखि ४८ घण्टाभित्र उसको सम्पर्कमा आएका व्यक्तिहरूको पनि परीक्षणहरू गराउनुपर्छ भनेर हामीले भनेका छौँ ।”

गएको माघमा कोरोनाभाइरस सङ्क्रमणको पहिलो घटना पुष्टि भएयता सङ्क्रमितसँग सम्पर्क कायम भएको हुनसक्ने आशङ्कामा 'सील' गरिएका स्थान वा घरहरूको एकीकृत तथ्याङ्क नराखिएको गृहमन्त्रालयले जनाएको छ ।

कति क्षेत्र 'सील' गरिए

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीय तह सम्मिलित जिल्लास्तरमै रहेका कोभिड-१९ व्यवस्थापन निकायलाई त्यस्तो अधिकार दिइएको बताए ।

महानगरीय प्रहरी कार्यालय काठमाण्डूका प्रवक्ता एसएसपी सुशीलकुमार यादवका अनुसार काठमाण्डूमा हालसम्म १७ वटा क्षेत्र 'सील' गरिएकोमा ६ वटा अझै खुल्न बाँकी छ ।

पाटनमा 'सील' गरिएको एउटा अस्पताल परिसर सहितको क्षेत्र खुल्ला गरिएको छ भने भक्तपुरमा 'सील' गरिएका ८ मध्ये दुईवटा क्षेत्र खुलिनसकेको बताइन्छ ।

एसएसपी यादव भन्छन्, “स्वास्थ्य मन्त्रालयको टोलीले परीक्षणहरू गरिसकेपछि स्थानीय तहसँग छलफल गरेर मात्रै 'सील' गरिएका क्षेत्रहरू हामीले खोल्ने गरेका छौँ ।”

'सील' भएको क्षेत्रमा बस्ने मानिसहरूलाई असजिलो नहोस् भनेर प्रहरी प्रशासनले दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा सघाउने अधिकारीहरू बताउँछन् ।

काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्य भन्छन्, “सील भएको क्षेत्रमा चौबीसै घण्टा प्रहरीको निगरानी रहन्छ। त्यस क्षेत्रमा बसिरहेका मानिसहरूलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्ने क्रममा प्रहरीले ढोकासम्मै सामानहरू पुर्‍याइदिएका छन् ।”

प्रतिक्रिया दिनुहोस