
काठमाडौं । नेपालमा साइवर सुरक्षाका विषयमा सरकारले तयारी गर्नका लागि विज्ञहरुले सुझाव दिएका छन् । शनिवार डिजिटल संवाद कार्यक्रममा सरोकारवालाहरूले सरकारलाई साइबर डिफेन्सको लागि तयार रहन सुझाव दिएका हुन । वेबसाइट, वेब एप्लिकेशन, सिस्टम, बैंकिङ प्रणालीहरूको सुरक्षा प्रणाली मजबुत बनाउँदै सबै पक्षको सहकार्यमा देशको लागि नै साइबर डिफेन्स तयारी अवस्थामा राख्नुपर्ने विज्ञहरूको सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री गणेश शाहले अब हामी डिजिटल नेपालतर्फ अघि बढिरहेको तर सुरक्षा अवस्था मजबुत नहँुदा इकोसिस्टम नै बिग्रने भन्दै सबै पक्षले यसमा ध्यान दिएर अघि बढ्न आग्रह गरे ।
डिजिटल संवाद कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले साइबर सुरक्षाको लागि सरकारले यस वर्ष बजेटमा प्राथमिकता दिएको जानकारी दिए । साइबर इन्फ्रास्ट्रक्चरको विकास गर्दै फरेन्सिक ल्याबसँगै सेक्युरिटी केन्द्र बनाउनेतर्फ मन्त्रालयले समन्वय गर्ने दत्तले बताए । सेक्युरिटी एक्सपर्टसँगै सबै सरकारी निकायको समन्वयमा विभिन्न सर्टहरूको व्यवस्था गर्दै कार्यान्वयनमा अघि बढ्ने दत्तको भनाइ थियो । साइबर सुरक्षा र डिफेन्सको लागि तयारी कम रहेको स्वीकार्दै दत्तले अब सबैको सहकार्य र समन्वयमा अघि बढ्ने बताए ।
साइबर डिफेन्सको लागि नेपालको तयारीको बारेमा आयोजना भएको डिजिटल संवादमा बोल्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले मन्त्रालय अन्तर्गत रहेको सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७५ अनुसार काम भइरहेको बताएका थिए । साइबर डिफेन्सको मेकानिजम बनाएर कलेक्टिभ्ली काम गर्नुपर्ने पौडेलको भनाइ थियो । आइटी विधेयक आइसकेपछि कतिपय कुरा नियमन गर्न सजिलो हुने बताउँदै उनले जिआइडिसीमा होस्ट हुने वेबसाइट तथा सिस्टमहरूको सेक्युरिटी अडिट अनिवार्य गर्नेतर्फ अघि बढिरहेको पौडेलले बताए ।
नेपाल प्रहरी साइबर ब्युरो प्रमुख तथा एसएसपी नवीन्द्र अर्यालले थोरै रिसोर्समा काम गर्नुपरेको वास्तविकता प्रस्तुत गर्दै कोलाब्रेटिभ इकोसिस्टम विकास गर्न जोड दिए । हामीले एक्सपर्ट समूहहरू बनाउँदै काम गर्नुपर्ने, तर त्यसको लागि देशमै यस विषयमा उच्च शिक्षा र तालिमहरू कम भएको अर्यालकोे भनाइ थियो । घटना भएपछि नेपाल प्रहरीमा रिपोर्टहरू पनि कम आउने गरेको जानकारी दिँदै उनले प्रयोगकर्तालाई डिजिटल साक्षरताको ज्ञान बढाउनु पनि उत्तिकै जरुरी रहेको बताए ।
डिजिटल संवादमा बोल्दै अर्थ मन्त्रालयका आइटी निर्देशक आदेश खड्काले सेक्युरिटी, प्राइभेसी र इन्नोभेसनलाई ब्यालेन्स गर्दै अघि बढ्नुपर्ने बताए । यस वर्ष बजेटमा पनि साइबर सुरक्षालाई प्राथमिकता दिइएको बताउँदै उनले विज्ञहरूको समूह बनाएर सर्टहरूलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्ने बताए । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक हिरण्य बास्ताकोटीले अब हरेक संस्था तथा निकायले आफै साइबर डिफेन्सको लागि तयार हुनुपर्ने बताए । सरकारी निकायमा पनि अब सेक्युरिटी हेर्ने छुट्टै अफिसरहरू आवश्यकता पर्ने भन्दै उनले सेक्युरिटी गाइडलाइन्स बनाएर काम गर्नुपर्नेमा जोड दिए ।
यसैगरी कार्यक्रममा राष्ट्र बैंंक, आइटी विभागका निर्देशक अजित रेग्मीले साइबर सुरक्षाको विषयमा निराश भइहाल्नुपर्ने अवस्था नभए पनि थप इन्फ्रास्ट्रक्चर र लगानी सहित विज्ञहरूलाई सरकारी संयन्त्रमा ल्याएर काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस