
काठमाडौं,कम्पनीले गत माघ १९ गते देशभर आफ्नो फोरजी सेवा विस्तार गर्नका लागि २ कम्पनीलाई कामको जिम्मा दिएको थियो । ति दुई कम्पनीले ठेक्का पाएसँगै हालसम्म २० प्रतिशत काम गरेको टेलिकमले जनाएको छ । कम्पनीको फोरजी नेटवर्क विस्तार अन्र्तगत कोर नेटवर्क विस्तार गर्ने जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले ६० प्रतिशत काम सम्पन्न गरिसकेको छ ।
पाँचै स्थानमा कोर नेटवर्क जडान गरिसकेकाले हाल उक्त नेटवर्कको सफ्टवेयर टेस्टिङको काम हुँदै गरेको टेलिकमले जनाएको छ ।
जेडटीईले काठमाडौं, हेटौडा, बुटवल, नेपालगंज र विराटनगरमा कोर नेटवर्क विस्तार गरिसकेको छ । हाल कम्पनीले कोर नेटवर्क विस्तार गरेका पाँचै स्थानमा टेस्टिङको काम गरिरहेको टेलिकमले जानकारी दिएको छ ।
यस्तै रेडियो एक्सेस नेटवर्क (र्यान) विस्तार गर्ने जिम्मा पाएको सीसीएआई हङकङले भने हाल काम सुरु समेत गरेको छैन । कम्पनीले नेपालभरका प्रमुख स्थानहरुमा नयाँ बिटिएस टावर निर्माण गर्ने, नयाँ टावर आवश्यक नपर्ने स्थानका पुरानै टावरमा फोरजीका लागि आवश्यक उपकरण जडान गर्ने लगायतका काम यसैबर्षको जुन पछि मात्रै अघि बढाउने टेलिकमले जानकारी दिएको छ ।
हाल सीसीएसआईले नयाँ टावर स्थापना गर्नुपर्ने स्थानको सर्भे, पुराना टावरको अनुगमन लगायतको काम गरिरहेको छ । र सीसीएसआईले नेपालका विभिन्न स्थानमा ६ सय ४० ओटा नयाँ बिटिएस टावरहरु निर्माण गर्नेछ भने अन्य प्रायजसो टावरमा फोरजी नेटवर्क क्षमता विस्तार गर्नेछ ।
टेलिकमले गत माघ १९ मा संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही उक्त २ कम्पनीसँग फोरजी सेवा विस्तार गर्ने सम्झौता गरेको थियो । नेपालभर ६५ लाख क्षमताको फोरजी एलटीई विस्तारका लागि गरिएको सम्झौतामा २ ओटै कम्पनीले आफ्नो काम १ बर्षभित्रमा सम्पन्न गर्ने भएका छन ।
नेपाल टेलिकमले पहिलो पटक २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजीरएलटीई सेवा सञ्चालन गरेको थियो । देशभर उक्त सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलेको रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुने टेलिकमले जानकारी दिएको छ ।
कम्पनीले १ बर्षभित्र सम्पन्न गर्ने भनिएपनि करिव १८ अर्ब रुपैयाँ लगानीको उक्त परियोजना तोकिएको समयसिमा भित्र सम्पन्न हुनेमा भने शंका देखिएको छ । हङकङको सीसीएसआईले १ बर्षभित्रमा नेपालभर र्यान नेटवर्क विस्तार गर्नका लागि आवश्यक उपकरण तथा अन्य सामग्रीहरु भने जुनको अन्त्यसम्म मात्रै नेपाल ल्याउने टेलिकमले जानकारी दिएको छ ।
तर सीसीएसले जुन अन्तिमदेखि मात्रै काम सुरु गर्दा १ बर्षमा ६ सय ४० ओटा नयाँ बिटिएस टावर निर्माण गर्न सक्छ या सक्दैन भन्ने प्रश्न खडा भएको छ । तर टेलिकमले भने १ बर्षमा ८ सय ओटा बिटिएस टावर निर्माण गरेको रेकर्ड रहेको भन्दै तोकिएको समयमा सम्पन्न हुने दावी गर्दै आएको छ ।
टेलिकमका फोरजी ग्राहकको संख्या हाल ७ लाख २७ हजार ३ सय ७ रहेको छ । यस्तै निजी दूरसंचार सेवाप्रदायक एनसेलका फोरजी प्रयोगकर्ताको संख्या भने १९ लाख २५ हजार २ सय ७० रहेको छ । करिव १८ महिना अख्तियारले नेपाल टेलिकमको फोरजी विस्तार गर्ने फाईल रोकिदिँदा पछि परेको कम्पनीले दावी गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस