aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कूटनीतिक उडानबाहेक सबै चार्टर्ड उडानमा रोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
कूटनीतिक उडानबाहेक सबै चार्टर्ड उडानमा रोक

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । चार्टड उडानमा जताभावी भएका कारणले क्यानले विदेश स्थिति नेपाली राजदूतावासको सिफारिस बाहेकका उडानहरुमा रोक लगाएको क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । 

प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड उडानलाई असर पु¥याएको जनाइएको छ । निगमले बन्दाबन्दीको अवस्थामा  दैनिकजसो चार्टर्ड उडान गर्दै आएको थियो ।

 विपद्को अवस्थामा चार्टर्ड उडानको नाममा वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीले यात्रुसँग मनोमानी भाडा असुल्न थालेपछि प्राधिकरणले आजैदेखि चार्टर्ड उडानमा रोक लगाएको उनले बताए  । प्राधिकरणले शनिबार राति जरुरी सूचना जारी गर्दै कूटनीतिकबाहेकका उडान रोकिएको जानकारी गराएको  छ । नेपालबाट सबै प्रकारका व्यावसायिक यात्रु उडान प्रतिबन्ध गरिएको अवस्थामा कूटनीतिक माध्यमबाट हुने उडानलाई मात्रै उडान अनुमति दिइने सूचनामा भनिएको छ ।

निगमको पूर्वनिर्धारित चार्टर्ड उडानमा भने असर नपर्ने निगमले उल्लेख गरेको छ । निगमको यात्रु चार्टर्ड गरिएको वाइडबडी जहाज आज बेलुका ९ बजे जापानको नारिता र सोमबार अष्ट्रेलियाको क्यानबेरामा चार्टर्ड उडान गर्ने तालिका रहेको छ । बन्दाबन्दीमा नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने वायुसेवा कम्पनीमध्ये निगमले सर्वाधिक चार्टर्ड उडान गरेको छ । नेपालबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

बन्दाबन्दीको समयमा चार्टर्ड उडानले पछिल्लो समय वित्तीय सङ्कट बेहोरिरहेको नेपाल एयरलाइन्सलाई आर्थिकरूपमा पनि केही राहत मिलेको थियो । विपद्को उडान सारथी बनिरहेको नेपाल एयरलाइन्सले यात्रु चार्टर्ड र कार्गो चार्टर्ड उडान गर्दै आएको थियो । प्राधिकरणको निर्णयले अब कार्गो उडान मात्र गर्न पाउनेछ । व्यावसायिक चार्टर्ड उडान गर्न पाइँदैन । नेपाल एयरलाइन्सपछि कतार एयरले सबैभन्दा धेरै चार्टर्ड उडान गरेको थियो ।

विदेश स्थिति नेपाली नियोगहरुमा हजारौको संख्यामा नेपालीहरु स्वेदेश फर्कनका लागि फारम भरेर बसेका छन् । विदेश स्थिति नेपाली कुटनीतिक नियोगहरुले नेपाल फर्कन चाहानेृहरुको लामो सूची नै तयार पारेर नेपालबाट चार्टड फ्लाइट आउने पर्खाइमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस