
काठमाडौं, जेठ १२ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको वालेट लोड गर्न नपर्ने सेलपे सेवाको ब्रान्ड एम्बेस्डरमा मह जोडी (मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य) नियुक्त भएका छन् ।
सन् २०१३ मा टेलिकम सेवा प्रदायक कम्पनी एनटीसी र एनसेलको रिचार्ज गर्दा पिन नम्बर हाल्नु पर्नेलार्ई विस्थापन गर्दै पहिलोपटक पिनलेस टपअप तथा बिल पेमेन्ट सेवा शुरु गर्ने सेलकमले आफ्नो सेवामा स्तरोन्नति गर्दै थप शीर्षकमा सेवा प्रदान गर्ने निर्णयका साथ भुक्तानी सेवा सेलपे शुरुवात गर्न लागेको हो ।
भुक्तानी सेवाको प्रतिस्पर्धी बजारमा सेलकम सबै आधारभूत स्ट्यान्डर्ड सेवासहित थप नयाँ फिचर र सहज सुविधा प्रदान गर्ने प्रणाली लिएर बजारमा आउन लागेको सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले बताए । सामान्य भाषामा बुझ्दा सेलपे एउटा अनलाइन पेमेन्ट सेवा हो । विभिन्न दूरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर यसका सुविधा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस