aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

ललितपुरमा कोभिडबाट दोस्रो व्यक्तिको मृत्यु, थप एकमा कोरोना पुष्टि

  • रासस
    रासस
  • विहीबार, ११ असार २०७७
ललितपुरमा कोभिडबाट दोस्रो व्यक्तिको मृत्यु, थप एकमा कोरोना पुष्टि

ललितपुर । ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ ।  यही असार ४ गते महालक्ष्मी नगरपालिका वडा नं ५ टीकाथली बस्ने स्थायी ठेगाना चितवन जिल्ला रत्ननगर घर भएका ५० वर्षीय पुरुषको कोरोना पुष्टि भएसँगै आज बिहान ७ बजे  पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा प्रमुख डा खगेश्वर गेलालले बताए ।

 उनले भने, “ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।” उनमा कोखा दुख्ने समस्या पनि रहेको डा गेलालले जानकारी दिनुभयो । निजको शव व्यवस्थापन नेपाली सेनाले गर्ने भएको राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाले बताए ।
 
यसअघि गत जेठ १५ गते ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मती घर भएका ५७ वर्षीय पुरुषको ग्वार्कोस्थित किष्ट मेडिकल केलजमा कोभिड–१९ का कारण मृत्यु भएको थियो ।  

थप एकमा कोरोना पुष्टि
ललितपुरमा आज थप एक जनामा कोरोना पुष्टि भएको छ ।  लपु– ५ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको डा गेलालले बताए । उनले भने, “ उनको असार ८ गते स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो ।” ती युवकलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरी कन्ट्रयाक ट्रेसिङको काम भइरहेको डा गेलालले जानकारी दिए ।
 
यसअघि गत जेठ ६ गते इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत २६ वर्षीय चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कन्ट्रयाक्ट ट्रेसिङ गर्न कपिलवस्तु र रुपन्देही गएका बेला उनलाई कोरोना सरेको थियो । उनी हाल उपचारबाट घर फर्किसकेको गेलालको भनाइ छ ।  

जेठ २७ गते लपुु– २७ सुनाकोठी नख्खुखोला बस्दै आएकी स्थायी ठेगाना सुनसरी जिल्ला धरान घर भएकी २३ वर्षीया सुत्केरीमा कोरोना पुष्टि भएको थियो । ती महिला किष्ट अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएकी थिइन् । उनी हाल पाटन अस्पतालको कोभिड वार्डबाट उपचार गरेर घर फर्किसकेकी छन् । 

यही असार १ गते लपु– २८ हरिसिद्धि स्थायी घर भएकी ४० वर्षीया  महिलामा कोरोना पुष्टि भएको थियो । जेठ २९ गते कुवेतबाट नेपाल फर्किएकी ती महिला स्टाफ कलेज जावलाखेलको क्वारेन्टिनमा बसेकी थिइन् । हाल उनको उपचार पाटन अस्पतालमा भइरहेको छ ।  असार ७ गते तीन–चार दिन अघि मात्र अफगानिस्तानबाट नेपाल फर्केकी लपु –२६ ढोलाहिटी स्थायी घर भएकी ४१ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो ।

 उनको हाल बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको छ ।  ललितपुरमा आजसम्ममा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये दुई जनाको मृत्यु भएको छ  ।

प्रतिक्रिया दिनुहोस