दाङ । दाङमा तीन दिन पहिले उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुम्राह चोक प्रतीक्षालयको बेञ्चमा बेवारिसे अवस्थामा भेटिएको महिलालाई प्रहरीले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो ।
उपचारकै क्रममा ती महिलाको मृत्यु भएपछि स्वाब संकलन गरेर कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ। बेन्चमा सुतेको र स्वास फेर्न गाह्रो अवस्थामा देखेपछि प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो ।
ती महिलाको अहिलेसम्म नाम ठेगाना खुलेको छैन । वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक दिनेश रिमाल र घोराही उपमहानगरपालिकाको नगर प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक रुद्र पन्थीले पिपिईसहितका स्वास्थ्य सामाग्रीको प्रयोग गरेर स्ट्रेचरमा राखेर अस्पताल पुर्याएका थिए ।
अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने ती महिला केही दिनदेखि गुम्राह चोक आसपास मै मागेर खाने गरेको स्थानीयहरुले बताएका छन्। यसैबीच शव व्यवस्थापन गर्ने विषयमा घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन र नेपाली सेनाको बीच छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस