aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

घाँटीमा जन्तर लगाएर कोरोना भाग्दैन, बरु मुटु, कलेजो, फोक्सोका लागि घातक हुनसक्छः स्वास्थ्य मन्त्रालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ असार २०७७
घाँटीमा जन्तर लगाएर कोरोना भाग्दैन, बरु मुटु, कलेजो, फोक्सोका लागि घातक हुनसक्छः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘भाइरस रिमुभिङ कार्ड’ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नजोगाउन प्रष्ट पारेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि अहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सो मा गम्भीर असर गर्ने बताए।

उनले कसैको भ्रममा परी यसको प्रयोग नगर्न समेत आग्रह गरे। संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ। कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाका नाममा भ्रम नछर्न आग्रह समेत गरेका छ। ​

'अहिलेसम्म कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने कुनै विधि र प्रकृया पत्ता लागेको छैन। यस किसिमको विधि र प्रकृया सुरु नै भएको छैन', उनले भने, 'यदि यस्तो भएको भए संसारभरी नै यस्तो अवस्था आउने थिएन होला। यस्ता विधि प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भएर प्रकृया अनुसार सरकारले नै वितरण गर्नेछ।' संकटको अवस्थामा समाजमा भएका केही व्यक्तिले भ्रम फैलाउन अवसर पर्खिने गरेको उनले बताए। भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिका गालामा झुन्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेकपा नेताहरुले कोरोना जन्तर भन्दै घाँटीमा भिरेर हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस