
काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको खुद नाफा गत वर्षको तुलनामा यस वर्ष ३३ गुणा बढी भएको छ ।
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण असार १५ गते सार्वजनिक गरेको हो । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस वर्ष रू. ३ करोड ६९ लाख ४ हजार खुद नाफा गरेको छ ।
यो नाफा गत वर्ष यसै अवधिसम्म रू. ११ लाख ७ हजार थियो । यस वर्ष कम्पनीले इवाखोला जलविद्युत आयोजनाबाट पनि विद्युत विक्री गर्न सुरु गरेकाले नाफामा उल्लेख्य सुधार आएको हो ।
गत वर्ष सम्म रैराङखोला जलविद्युत आयोजनाबाट मात्र विद्युत उत्पादन गरिरहेको यस कम्पनीले यस वर्ष इवाखोला सहित रू. १० करोड ३७ लाख ९४ हजारको विद्युत विक्री गरेको छ । यो रकम गत वर्ष यसै अवधिसम्म रू. १८ लाख ६६ हजार थियो । गत वर्षभन्दा यस वर्ष विद्युत विक्री आम्दानी ५५ गुणभन्दा बढी भएको छ ।
हाल रू. ५६ करोड चुक्तापूँजी रहेको यस कम्पनीको जगेडा कोष रकम रू. ३ करोड ७० लाख ५३ हजार कायम भएको छ । गत वर्ष यस अवधिसम्म यो रकम रू. ७१ लाख ७२ हजार थियो ।
प्रतिक्रिया दिनुहोस