
काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्न मन्त्री योगश भट्टराईले भ्रमण वर्ष २०२० लाई लिएर भ्रमण वर्ष सचिवालयमार्फत मात्र ३५ करोड माथि खर्च भएको बताएका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले तत्कालिन (विघठन हुनुपूर्व) भ्रमण वर्ष प्रचार–प्रसार विभाग ‘भिजिट नेपाल २०२० सचिवालय’ ले मात्र ३५ करोड रुपैयाँ माथि खर्च गरेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले मन्त्रालय र पर्यटन बोर्ड समेतको सहयोगमा सचिवालयलाई ३० करोड उपलब्ध गराएकोमा प्रचार प्रसारको बीचमै भ्रमण वर्ष नै स्थगन गर्नुपर्दा समेत सचिवालयले ३० करोडमाथि खर्च गरेर थप अपुग ४–५ करोड माग गरेको बताएका छन् ।
उनले थप्दै भने ‘भ्रमण वर्षलाई लिएर हामी तिव्र प्रचार–प्रसार र पूर्वाधार तयारीमै थियौं तर अकस्मात विश्वमा कोरोनाको महामारी आइलाग्यो । कोरोनाको विश्व संकटका बीच हामीले आयोजना गरेको भ्रमण वर्ष समेत प्रभावित हुन पुग्यो । शुरुमा यसले त्यति असर नगर्ला भन्ने हाम्रो आंकलन थियो तर कोरोनाको आक्रमण रोकिएन । यसको प्रभाव अझ केहि समय पर जाने देखियो र हामीले तत्कालका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय ग¥यौं । भ्रमण वर्षसँगै हामीले गठन गरेको भ्रमण वर्ष २०२० सचिवालय समेत विगठन गर्यौं र त्यहाँ भएका सबै नगद जिन्सी मन्त्रालयमा बुझाउन भन्यौं । अहिले उक्त सचिवालयको सम्पूर्ण सम्पत्ति मन्त्रालयको मातहतमा ल्याएका छौं ।’
लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति भएको देखाएको हो । सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ । सरकारले केही सेवा क्षेत्र खुला गरेपनि लकडाउनको अवधि साउन ७ गतेसम्म बढाएपछि अझै ७ अर्बको नोक्सानी बढ्न सक्ने अनुमान गरिएको छ ।
पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका कर्मचारी तथा पुनकर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरिएको जनाएको छ । लकडाउनको अवधिमा मन्त्रालयबाट भएका कार्य प्रगतिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार होटलका लागि भ्याट दाखिला गर्ने समय २ महिनाबाट बढाएर चार महिना पु¥याइएको छ ।
मन्त्रालयले हवाई जहाज पार्किङ शूल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट र इजाजत तथा नविकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारलाई सिफारिस गरेको छ । लकडाउनको अवधिमा विभिन्न विमानस्थलहरुमा सन्तोषजनक कार्यप्रगति भएको मन्त्रालयले जनाएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ प्रतिशत थप भौतिक प्रगति भइ अहिलेसम्म ९१ प्रतिशत काम भएको छ । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लक डाउनको अवधिमा ९ प्रतिशत थप भौतिक प्रगति भइ अहिलेसम्म ५९ प्रतिशत प्रगाति भएको बताएको छ । त्रिभुवन विमानस्थलमा एप्रोन निर्माण, धावनमार्ग र रनवे निर्माण, टर्मिनल भवन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । निजगढ विमास्थल निर्माण क्षेत्रभित्रका रुख बुट्यानहरुको छपानका लागि रुख विरुवा गणनाको काम सुरु भएको छ ।
मन्त्रालयले ४१ किलोमिटर पदमार्ग, विभिन्न क्षेत्रमा फुटपाथ निर्माण, भ्यूटावर निर्माण सम्पन्न गरेको छ । यस्तै एकिकृत विद्युतीय सञ्जाल सम्बन्धि एप्लिकेसन निर्माणको काम पनि सकिएको छ । मध्यपूर्व र युरोप लगायत विभिन्न १७ मुलुकबाट मार्च २४ बाट ३० सम्म नेपाल वायुसेवा निगम लगायतका अन्य वायुसेवाहरुबाट २ सय १४ उडानमार्फत १६ हजार ६ सय ७२ नेपालीलाई उद्धार गरिएको छ । नेपालमा अलपत्र परेका १२ हजार ४ सय ८ जना विदेश प्रस्थान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस