
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक वृद्धको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
नेपालमा विगत २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो । यससँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,२५९ पुगेको छ ।
तीमध्ये ६,१४३ जना निको भएका र ३२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८२३ जना निको भएका हुन् भने एक जनाको मृत्यु भएको हो ।
अहिले सबै ७७ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको छ । आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,०८४ छ । महोत्तरी, रौतहट, सर्लाही, कपिलवस्तु, पाल्पा, दाङ, दैलेख र कैलाली जिल्लामा सङ्क्रमितको सङ्ख्या ५०० नाघेको छ ।
विभिन्न जिल्लामा ३५,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,४८३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस