
काठमाडौं । नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनालाई कोरोना भाइरस संक्रमण(कोभिड–१९) पुष्टि भएको छ । निगमले विभिन्न देशमा गर्न थालेको उद्धार उडानका क्रममा पाइलटसहित क्याविन क्रुलाई कोरोना भएको हो । निगमले जानकारी दिएको छ ।
विभिन्न मुलुकमा उद्धार उडानमा गएका ३ जना पाइलट र अन्य ११ जना क्याविन क्रुलाई संक्रमण पुष्टि भएपछि निगमले थप कर्मचारीमाथि पनि निगरानी बढाउन थालेको छ ।
निगम कोरोना संक्रमण पुष्टि भएका कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार गर्ने शुरु गरिसकेको छ । अन्य बाँकी कर्मचारीको पनि ’कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको निगम स्रोतले जानकारी दिएको छ ।
निगमले बन्दाबन्दी पछि भएको उडानका सबै पाइलट तथा क्याविन क्रुलाई सोल्टी होटलमा क्वारेन्टिनमा राखेको थियो । उडानमा गएका कर्मचारीलाई क्वारेन्टिनमा राख्दै नयाँ टोली परिचालन गर्ने गरेकोे छ ।
निगमबाट भइरहेको उद्धार उडानमा प्रभाव भने नपर्ने उल्लेख गरेको छ । यस अघि हिमालय एयरलाइन्सका पनि एक जना विदेशी पाइलटलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस