
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डेले अहिलेसम्म कोरोना संक्रमण सुमदायमा नगएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै डा. पाण्डेले यस्तो बताएका हुन् ।
उनले भने, नेपालमा अहिलेसम्म कोरोना संक्रमण समुदायमा गएको छैन, धेरै जसो संक्रमित विदेशबाट आएका छन् भने केही संक्रमित (फ्रन्ट लाइन)मा कार्यरत सुरक्षाकर्मी र स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि पनि छन् ।’ पाण्डेले लकडाउन खुकुलो बनाइसकेपछि काठमाडौंसहितका केही स्थानमा कोरोना संक्रमित बढ्दै गएको बताएका छन्।
उनले काठमाडौं उपत्यकामा पछिल्लो समय संक्रमित बढे पनि समुदायमा नफैलिएको बताए। ‘अहिलेसम्म काठमाडौं उपत्यकामा समुदायमा कोरोना पुगेको तथ्य छैन। ललितपुरको नख्खु र काठमाडौंको तीनकुनेमा गरिएको परीक्षणमा सबैमा कोरोना देखिएको छैन’, उनले भने, ‘समुदायमा गए नगएको टुंगो गर्न काठमाडौं उपत्यकामा अन्य नौ ठाउँमा पनि समुदायको स्वाब लिएर परीक्षण अघि बढाएका छौं।’
पाण्डेका अनुसार काठमाडौं उपत्यकामा अहिलेसम्म २६७ जना काठमाडौं ठेगाना राखेका संक्रमित भेटिएका छन्। जसमध्ये १७५ जना काठमाडौं जिल्लाका, ४१ जना ललितपुर र भक्तपुरमा ४३ जना छन्। पाण्डेका अनुसार काठमाडौं उपत्यकामा भेटिएकामध्ये ७९ प्रतिशत व्यक्ति विदेशबाट आएका छन्। उनीहरु उद्धार उडानबाट आएकाहरु हुन्। उनले भने, ‘विदेशबाट पठाउँदा रोग छैन भनेर पठाउनुपर्ने हो। तर खाडीसहितका कतिपय क्षेत्रका देशले परीक्षण नै नगरी पठाएका छन्। केहीले आरडिटी गराएका छन् भने केहीले आरटी पिसिआर गराएर पठाएका छन्।’ १७ हजारको उद्धार अहिलेसम्म उद्धार गरेर ल्याइएका १७ हजार व्यक्तिमध्ये ३५ प्रतिशतले मात्रै पिसिआर परीक्षण गरेर नेपाल आएको उनले बताए।
‘३५ प्रतिशतले आरटी पिसिआर गराएका छन् भने ३५ प्रतिशतले आरडिटी गराएका छन्। बाँकीले परीक्षण नै गरेका छैनन्’, उनले थपे, ‘कसैसँग केही पनि छैन, आरडिटी र पिसीआर केही नहुँदा समस्या भएको छ।’ उनका अनुसार केही त कोरोनाको लक्षणसहित काठमाडौं आएका छन्। लक्षणसहितका व्यक्तिहरु पनि आएका छन्। आरटी पिसिआर नगरेकालाई होटल क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राख्नुपर्ने बाध्यता छ’, उनले थपे, केहीलाई लक्षण देखिएपछि विमानस्थलबाट सीधै अस्पताल लगेर आइसोलेसनमा राखिएको छ।’ लुकिछिपी आउँदा खतरा निर्देशक पाण्डेले राजधानी बाहिरबाट लुकिछिपी आउनेहरूका कारण उपत्यकामा जोखिम उच्च भएको छ।
उनका अनुसार काठमाडौं बाहिरबाट आउनेहरु धेरै हाम्रो दायरामा परेका छैनन्। धेरैजसो मुख्य नाकाभन्दा बाहिरबाट आइरहेका छन् । सुरक्षाकर्मी र हेल्थ डेस्कले हेर्न नसक्ने अवस्था छ। लुकीछिपी आएकाहरुमा पनि संक्रमण छ । पाण्डेका अनुसार उपत्यकामा संक्रमण देखिएकामा विभिन्न अस्पतालमा अप्रेशन र उपचार गर्नुपर्ने बिरामी पनि छन्। उनले भने, ‘केही संक्रमित विभिन्न अस्पतालमा उपचाररत बिरामी पनि छन्, बिरामीहरूका कारण केही स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।’ काठमाडौंका दुई ठाउँमा समुदायको स्याम्पल लिइएको बताउँदै पाण्डेले अब अन्य नौ ठाउँबाट पनि स्याम्पल लिइने बताए। जोखिम समूहहरु पत्ता लगाएर काठमाडौंका ९ ठाउँबाट, बैंक र मालपोत लगायत भिड भएका ठाउँबाट पनि स्याम्पल लिन लागेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस