aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

विहारमा 'लकडाउन रिटर्न', के नेपालमा पनि फेरी होला कडाइ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ साउन २०७७
विहारमा 'लकडाउन रिटर्न', के नेपालमा पनि फेरी होला कडाइ ?

भारत । भारतको विहारमा फेरी कडा लकडाउन लागु गरिएको छ । त्यहाँको सरकार कोरोना महामारीको सङ्क्रमण रोक्न असफल भएपछि फेरी यस्तो निर्णय गर्न बाध्य बनेको छ ।

विहार सरकारले हाललाई जुलाई १६ तारिक (बिहीबार) देखी जुलाई ३१ तारिक सम्मका लागी पुरानै शैलीको कडा बन्दाबन्दीको घोषणा गरेको हो । 

त्यहाँको गृह विभागले जुलाई १४ मा नै जारी गरेको आदेश अनुसार राज्य, जिल्ला, उपविभाग र क्षेत्र सदरमुकामका साथ नगरपालिका निकायमा पूर्ण बन्दाबन्दी हुनेछ। राज्यमा बस सेवाको सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।  तर त्यहाँ मालसामानहरू र आवश्यक सेवाहरू प्रदान गर्ने व्यक्तिहरूको निजी सवारी साधनहरूको सञ्चालनमा कुनै प्रतिबन्ध छैन।

दोस्रो लकडाउनमा खाद्यान्न, किराना, दूध, फलफूल, तरकारीहरू, मासु र माछा पसलहरू खुला रहनेछन्। औषधी पसल / स्वास्थ्य सेवाहरूमा प्रतिबन्ध छैन। बैङ्क, बीमा, पेट्रोल पम्पहरू खुला छन् भने ट्याक्सी र अटो रिक्सा पनि प्रतिबन्धित छैनन्।

तर, अनलक-१ को घोषणा मार्फत खुला धार्मिक स्थानहरू बन्द गर्ने निर्णय भएको छ। होटेल र रेष्टुराँ सर्तका साथ खोल्न अनुमति छ। 
नेपालसँग सिमाना जोडिएको भारतको विहारमा फेरी थेग्नै नसकिने गरी कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि ‘लकडाउन रिटर्न’ गर्न त्यहाँको प्रशासन बाध्य भए पनि नेपालमा भने सङ्क्रमितको सङ्ख्या घट्दो छ । तर, विहारमा जस्तै हालको केही खुकुलोपन कतै घातक त हुने होइन भन्ने चिन्ता भने सर्वत्र व्याप्त छ ।

नेपालको भारतसँगको सिमाना अहिले पनि बन्द गरिएको अवस्थामा छ । तर, विहारबाट लुकिचोरी नेपाल प्रवेश गर्ने मानिसहरूको सङ्ख्या समेत यसबिच बढेको भन्ने चर्चा छ । यसले नेपालको प्रदेश न. २ लाई जोखिममा पार्न सक्ने चिन्ता बढ्दो छ ।
यसबाहेक नेपालमा समेत लकडाउन केही खुकुलो भएसँगै हेलचेक्राई बढेको हुँदा ठुला सहरमा सङ्क्रमणले समुदायलाई नै जकड्ने सम्भावना बढेको जनस्वास्थ्य विदहरुले बताइरहेका छन् । के नेपालमा पनि विहार कै अवस्था आउला ? यो प्रश्नको जवाफ चाँडै प्राप्त हुने देखिन्छ ।   
 

प्रतिक्रिया दिनुहोस